पोखरा, २४ जेठ l पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा सुत्केरी आमा र शिशु दुवैको मृत्यु भएको छ । उपचारमा चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा धर्ना दिएका छन् । सुत्केरी हुने हिडेरै मंगलबार अस्पताल पुगेकी धादिङ त्रिपुरा गाविस वडा नं. ६ की ३५ वर्षीया शान्ता भण्डारी र शिशु (छोरा) को गएराति मृत्यु भएको हो

१९ वर्षअघि विवाह गरेकी शान्ताको तेस्रो सन्तान हो । उनका श्रीमान मजदुरी गर्छन् । भण्डारी दम्पत्ती नयाँबजार, पोखरामा डेरा लिई बस्दै आएका थिए । शान्ताका आफ्न्त चन्द्रीका थापाले उपचारमा चिकित्सकले लापरबाही गरेको दाबी गरिन् । उनले सुत्केरी गराउने क्रममा पहिले शिशुको मृत्यु भएको भनिएको छ, त्यसको २ घण्टापछि आमाको पनि मृत्यु भएको घोषणा गरियो ।

उनका अनुसार शिशुको गएराति साढे २ बजे र आमाको बिहान साढे ५ बजे मृत्यु भएको घोषणा गरिएको हो । मृतकका आफन्तका अनुसार मंगलबार दिउँसो साढे १० बजे मणिपाल शिक्षण अस्पतालको प्रसूति वार्डमा भर्ना भएकी थिइन् । नर्मल डेलिभरी भएकी उनलाई चिकित्सकले खतरा भएको वा स्वास्थ्यमा समस्या आएको बारेमा केही जानकारी नदिई एकैपटक मृत घोषणा गरेको आफन्तको आरोप छ ।

उनका आफन्तले अस्पताल प्रशासनमा धर्ना दिँदै उनीहरुले सत्यतथ्य पत्ता लगाएर दोषी चिकित्सकमाथी कार्वाही गर्न माग गरेका छन् । तर अस्पताल प्रशासनले भने सुत्केरी र नवजात शिशुको मृत्युमा चिकित्सक दोषी नरहेको दाबी गरेको छ । अस्पताल प्रशासनले नवजात शिशु मृत अवस्थामा जन्मेको र सुत्केरी शान्ताको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताएको छ । उनका आफन्तले कानुनी उपचारमा जाने तयारी समेत गरेका छन् ।

LEAVE A REPLY