सिओल, १८ चैत । दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गुयन–हेई भ्रष्टाचारको अभियोगमा पक्राउ परेकी छन् । ६५ वर्षीया पार्कलाई दक्षिण कोरियाली अदालतले पक्राउ गर्न आदेश दिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउपछि उनलाई राजधानी सिओलको दक्षिणी भागमा रहेको एउटा कारागारमा राखिएको छ ।

पदमा रहँदा उनले विभिन्न कम्पनीबाट मोटो रकम भ्रष्टाचार गरी आफ्ना सहयोगी चाई सून सीललाई सहयोग गरेको अभियोगको छानविन गर्न अदालतले पक्राउ गर्न आदेश दिएको कोरियाली समाचार संस्था योनहापले जनाएको छ ।

पार्कलाई पक्राउ नगर्दा प्रमाणहरु नष्ट हुने सम्भावना रहेको भन्दै उनलाई पक्राउ गरिएको हो । पार्क कोरियामा भ्रष्टाचारको अभियोगमा पक्राउ पर्ने तेस्रो पूर्वराष्ट्रपति हुन् ।

यसअघि त्यहाँको संसदले पार्कलाई महाभियोग लगाएर राष्ट्रपतिबाट बर्खास्त गरेको थियो । पार्कले संवेदनशील थुप्रै कागजपत्र चुहाएर कानुन उल्लंघन गरेको पनि अदालतले ठहर गरेको छ । आफ्नानिकट साथी चाई सून सिलसँग भ्रष्टाचार काण्डमा मुछिएपछि पार्कविरुद्ध संसद्ले महाभियोग लगाएको थियो । यद्यपी आफूलाई लगाइएको आरोपको पार्क र चाई दुबैले अस्वीकार गर्दै आएका छन् । @एजेन्सी

LEAVE A REPLY