दुई वर्षअघि शनिबार दिन ११ बजेर ५६ मिनेट गएको थियो । काठमाडौंको केन्द्रमा रहेको सुन्धारामा रहेको धरहरा वरिपरी मानिसहरुको भिडभाड र चहलपहल थामिनसक्नु थियो । शनिबारको दिन बिदा भएकाले पनि होला । अन्य दिनभन्दा धेरै मानिसहरु ९ तले धरहरा उक्लिने र ओर्लिने गरिरहेका थिए । त्यसमध्ये कतिपय जना धरहराको टुप्पोमा बसेर काठमाडौं उपत्यका नियाल्दै थिए । धरहरा नजिकै खाजा पसल सञ्चालन गरिरहेका राजन लामा धरहरा घुम्न आएका ग्राहकलाई सेवा दिन तल्लिन हुनुहुन्थ्यो । ठिक त्यति नै बेला मानिसहरुको ठेलमठेल हुने ठाउँ भूकम्पले गर्दा चिहान घरमा परिणत भयो । लामाको आखैँ अगाडी नौ तले धरहरा गल्र्यामगुर्लुम ढल्यो  । १ सय ५० जना भन्दा बढी मानिसहरुले ज्यान गुमाए । सयौँ घाइते भए । खाजा पसलबाट बाहिर निस्कन भ्याएका लामाले धन्न ज्यान जोगाउनुभयो ।
गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले धरहराको भग्नावशेष मात्रै बाँकी राख्यो । धरहराको टुप्पोमा भएकाहरुमध्ये धेरै जनाको ज्यान गयो । एक दुई जना बाहेक सबैले लामाकै अगाडी प्राण त्यागे । ‘आखैँ अगाडी धेरैले ज्यान गुमाए । भूकम्प गएपछि ज्यान जोगाउन भनेर भाग्न लागेकाहरुको पनि धरहराले किचेर ज्यान गयो । सबैले बचाउ..बचाउ.. भन्दै थिए । तर कसैलाई केही गर्न सकिएन ।’ दुई वर्षअघिको बैशाख १२ को कहालीलाग्दो घटना सम्झिदै लामाले भन्नुभयो ।

त्यतिबेला भत्केको धरहराको दुई वर्ष वितिसक्दा पनि सरकारले पुनर्निर्माण गर्न अग्रसरता देखाएको छैन । धरहरा भत्केर दुई तलाको भग्नावशेष मात्रै बाँकी रहँदा पुरातत्व विभागले नयाँ डिजाइन तयार भएको र त्यस वरपरको जग्गा अधिग्रहण गर्ने काम भइरहेको दाबी गरेको छ । नौ तलाबाट बढाएर ११ तलाको पक्की धरहरा बनाउने सरकारको योजना छ । गाडी पार्किङ, सपिङ सेन्टर, बगैँचादेखि फनपार्कसम्म बनाउने गरी सरकारले डिजाइन निर्माण गरे पनि त्यो विज्ञहरुबीच छलफलको चरणमा रहेको विभागका अधिकारीको भनाई छ । विज्ञहरुबीचको छलफल चलिरहेकाले अहिलेकै डिजाइन अन्तिम डिजाइन नभएको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो ।
‘हामीले डिजाइन तयार पारेका छौँ । तर त्यो नै फाइनल होइन । विज्ञहरुले त्यो डिजाइनमाथि छलफल गरिरहनु भएको छ । उहाँको लामो छलफलपछि जे निष्कर्ष आउँछ ? त्यसपछि मात्रै फाइनल हो भन्न सकिन्छ ।’ कुँवरले भन्नुभयो ।

भूकम्पले भत्केर धरहराको भग्नावशेष मात्रै बाँकी रहेपछि अहिले त्यस क्षेत्रमा अस्तव्यस्तता छ । दिनमा हजारौँ मानिसहरुले ओहोरदोहोर गर्ने धरहरा परिसरमा चहलपहल नघटे पनि व्यवस्थापन भने निकै फितलो छ । पहिलेको जस्तो धरहरा चढेर काठमाडौँ उपत्यका नियाल्न नपाउने नागरिक अहिले धराहरा कस्तो थियो होला ? भनेर अनुमान लाउँछन र भग्वनावशेष हेरेर चित्त बुझाउँछन । धरहरा नभए पनि त्यो बाटो भएर आवतजावत गर्ने र व्यापार व्यवसायमा कुनै चहलपहल नघटेको लामाको भनाई छ । ‘धरहरा ढले पनि यहाँ मान्छेहरु आउन रोकिएको छैन । मानिसहरुको मुख्य आउनेजाने बाटो भएर होला । अहिले पनि व्यापार व्यवसाय उस्तै छ । तर पुरातात्विक मान्यताको धरहरा ढल्दा पहिलाजस्तो पर्यटक आउन सकेका छैनन ।’ उहाँले भन्नुभयो ।
१८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले धरहराको निर्माण गर्न लगाउनु भएको थियो । उहाँले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप धरहरा निर्माण गर्न लगाउनु भएको होे । भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकोले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ । सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो । बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुने परम्परा थियो । तर १९९० साल माघ २ गते गएको भूकम्पले पनि धरहरा भत्केको थियो । त्यतिबेला भत्केको धरहरा ११ तल्लाको थियो । ९० सालमा भत्केको धरहरा दुई वर्षपछि नै निर्माण भएको थियो । तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणाले साबिक बमोजिम नौ तल्ला नै कायम गरी पुनर्निर्माण गर्नु भएको थियो ।

तर २०७२ बैशाख १२ गते गएको भूकम्पले भत्केको धराहरा दुई वर्ष वितिसक्दा पनि पुनर्निर्माणको कुनै औपचारिक काम शुरु हुन सकेको छैन ।

राजनीतिक अस्थिरता र सरकार छिटो छिटो परिवर्तन हुने भएकाले धरहरा लगायतका पुनर्निर्माणका काम हुन नसकेका धरहरा हेर्न आउने आन्तरिक पर्यटकको भनाई छ । ‘नौ–नौ महिनामा सरकार परिवर्तन भइरहन्छ । एउटाले ल्याएको एजेन्डा कार्यान्वयन गर्न नपाई अर्को सरकार आउँछ । र त्यसलाई परिवर्तन गरेर आफ्ना एजेन्डा ल्याउछ । तर नयाँ सरकारले पनि त्यो पुरा गर्न नपाई सरकारबाट हट्नुपर्छ’ सुन्धरामा भेटिएका दोलखाका शिक्षक शोहिकर लामिछानेले भन्नुभयो ‘राजनीतिक दलहरुको यही गलत प्रवृत्तिले गर्दा धरहरालगायतका पुरातात्विक सम्पदाको पुनर्निर्माणमा ढिलाई भएको हो ।’
धरहरा पुनर्निर्माणकै लागि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा ‘मेरो धरहरा, म आफै बनाउँछु’ भन्ने नाराका साथ १ रुपैयाँ उठाउने अभियान नै शुरु भए पनि त्यो अभियान कहाँसम्म पुग्यो भन्ने पुरातत्व विभागका अधिकारीलाई जानकारी छैन । विभागका प्रवक्ता रामबहादुर कुँवरले यो अभियान शुरु भएपनि आफूलाई जानकारी नभएको बताउनुभयो ।

‘अहिलेसम्म कति रकम उठ्यो त्यो जानकारी छैन । तर रकम उठेको छ ।’ कुँवरले भन्नुभयो । धरहरा निर्माणकै लागि सबै सरकारी कर्मचारीबाट रकम उठाउने काम पनि शुरु गरिएको छ । तर त्यो रकम पनि कति संकलित भयो भन्ने बारेमा पनि पुरातत्व विभाग बेखबर छ ।

ओली सरकारका पालामा धरहरा निर्माणका लागि १ रुपैयाँ संकलन अभियान नेपाल टेलिकमले लिएको भने पनि त्यसको काम सरकारले नै गरेको टेलिकमको भनाई छ । धरहराको पुनर्निर्माणमा सघाउन नेपाल टेलिकम, जगदम्बा सिमेन्टलगायतका निजी क्षेत्रले माग गरे पनि सरकारले योे विषयमा निर्णय गर्न सकेको छैन । टेलिकमका सहायक निर्देशक शेषनारायण दाहाल धरहराको नक्साका बारेमा कुराकानी भए पनि अन्य प्रक्रिया अगाडी नबढेको बताउनुहुन्छ ।

‘सामान्यतया डिजाइन आएपछि छलफल भएको छ । टेलिकमले पनि सहयोग गर्छ । हामीले १ करोड रुपैयाँसम्म दिन्छौँ भनेका छौँ । तर लिखित सहमति भएको छैन । १ रुपैयाँ संकलन अभियान पनि सरकारले नै चलाएको छ ।’ उहाँले भन्नुभयो ।

धरहराको पुनर्निर्माणका लागि पुरातत्व विभागले ३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । तर त्यो रकम सरकारले नै विनियोजन गर्ने या निजी क्षेत्रबाट पनि सहयोग लिने भन्ने बारेमा अहिलेसम्म निर्णय लिन सकेको छैन । निर्माण कार्य शुरु भएपछि कम्तीमा तीन वर्षभित्र धरहरा निर्माण सक्ने विभागको लक्ष्य छ ।

तर निर्माण कार्य नै शुरु नभएकोले कहिले पहिलेको जस्तै धरहरा हेर्न पाइन्छ होला भनेर पर्यटकमा हुटहुटी छ । दुई वर्षअघिको भूकम्पले काठमाडौँका उपत्यकासहित देशभरका ८ सय ५० वटा सम्पदामा क्षति पुगेको पुरातत्व विभागको तथ्ंयाक छ ।

भूकम्पले क्षतिग्रस्त सबै सम्पदा पुनर्निर्माणको प्रक्रिया शुरु भएको विभागले दाबी गरे पनि प्रभावकारी काम भने हुन सकेको छैन । धरहरा लगायतका पुरातात्विक सम्पदाको पुनर्निर्माण हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटकले सरकारको आलोचना गर्ने गरेका छन ।

@ujyaaloonline

LEAVE A REPLY