चैत्र १७, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहाल चीनबाट फर्केको भोलीपल्ट नै नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिभ सिंह पुरीले शिष्टाचार भेट गरेका छन् । सिंहले आइतबार ओहोदाको प्रमाणपत्र बुझाएपछि लगातार भेटवार्ता गरिरहेका छन् । त्यही अन्तर्गत उनले प्रधानमन्त्रीसंग पनि भेट गरेका हुन् ।

प्रधानमन्त्रीले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना दिंदै नेपाल र भारत बीचको सम्वन्ध बारेमा छलफल गरेका थिए ।  प्रधानमन्त्रीले नेपाल र भारतबीच निकटको सम्वन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्वन्ध अझ प्रगाढ रहने विश्वास पनि प्रधानमन्त्रीले ब्यक्त गरे ।

युरोपीयन युनियनका लागि राजदूत रहेर काम गर्दै गर्दा नेपालको राजदूतमा नियुक्त भएर आएका पुरीले नेपालमा रहेर काम गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्दै दुई देशको आपसी हित र सम्बन्ध विकासमा आफ्नो भुमिका रहने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसैबीच उनले परराष्ट्रमन्त्री प्रकाशशरण महतसंग पनि भेटवार्ता गरेका छन् । सो भेटका क्रममा नेपाल र भारतको आपसी सम्बन्धका विविध पक्षका साथै नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि कुराकानी भएको थियो ।परराष्ट्रमन्त्री महतले नेपालले स्थानीय तहको निर्वाचनको तयारी व्यापक रुपमा गरिरहेको जानकारी उनलाई दिंदै नेपालका सबै राजनीतिक दललाई समेटेर निर्वाचनमा सहभागी गराउने बारेमा सरकारले गृहकार्य गरिरहेको बताएका थिए ।

@ekantipur

LEAVE A REPLY