पोखरा २२ कार्तिक । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० भलाममा रहेको हरिहर गुफा सन्यास आश्रममा बालचतुर्दशी बिशेष मेला हुने भएको छ । आश्रमले बुधवार आश्रम स्थलमा पत्रकार सम्मेलनको आयोजना गरी हिन्दुहरुको विशेष पर्व वाला चतुर्दशीको अवसर पारेर आगामी मंसिर १ गते शुक्रबार बालाचतुर्दशी विशेष मेला २०७४को आयोजना गर्न लागेको जानकारी दियो ।
विं सं. २०४० देखि बाला चतुर्दशीको अवसरमा सतबिज छर्ने मेलाको आयोजना गरिदै आएको भएतापनि यो वर्ष हरिहर गुफा क्षेत्र पोखरा लेखनाथ महानगरमा गाभिएसंगै भब्य रुपमा बालाचतुर्दशी विशेष मेलाको आयोजना गर्न लागिएको हरिहर गुफा सन्यास आश्रम सेवा समितीका सचिव गणेश बहादुर खत्रीले वताए । खत्रीका अनुसार मेलालाई सफल बनाउनका हरिहर गुफा सेवा समितीका अध्यक्ष पिठाधिस श्री १००८ स्वामी आत्मनन्द गिरीजी महाराजको संयोजकत्वमा मुल आयोजक समिती रहने गरी विभिन्न ११ वटा उपसमितीहरु गठन गरिएको छ ।
प्रचार प्रसार उपसमिती संयोजकमा रेशम बहादुर क्षेत्री, पुजा संस्कार उपसमितीमा आश्रमका उपाध्यक्ष विष्णु बहादुर खत्री, स्वागत तथा जलपानमा गणेश बहादुर खत्री, भजन कृतन तथा बाजामा लिलाधर बास्तोला, फुल प्रसाद ब्यवस्थापनमा तेज बहादुर बस्नेत, स्वास्थ्य तथा प्राथमिक उपचारमा नारायण प्रसाद बास्तोला, आर्थिकमा आश्रमका कोषाध्यक्ष रामजी प्रसाद पौडेल, श्रृङगार तथा सरसफाइमा सरस्वती गौतम, यातायात ब्यवस्थामा रामकाजी गुरुङ, युवा परिचालनमा श्रीङखला युवा क्लवका अध्यक्ष बिमल खत्री संयोजक रहेका छन ।
विं सं १९०६ सालमा तत्कालिन प्रधानमन्त्री श्री ३ जंग बहादुर राणाले हरिहर गुफा क्षेत्रमा रहेको करिव ४० रोपनी जग्गालाई संरक्षण गरी आश्रम बनाउन निर्देश भएदेखि उक्त ठाउ संरक्षण गरेको आश्रमका कोषाध्यक्ष रामजी प्रसाद पौडेलले जानकारी दिए । पोखराबाट नजिकै रहेर पनि ओझेलमा परेको पर्यटकीय र धार्मिक आश्रममा हाल ११ जना जेष्ठ नागरिकले आश्रय लिदै आएको समेत पौडेलले वताए ।
आश्रममा स्वदेशीमात्र नभइ विभिन्न मुलुकका धार्मिक पर्यटन संगै हरेक वर्ष सतबिज छर्न १० हजार वढी दर्शनार्थी आउने गरेको आश्रमले जनाएको छ । आश्रममा यो वर्षदेखि विशेष मेलाको आयोजना गरेको भएतापनि आगामी वर्षदेखि साताब्यापी रुपमा मेला तथा महायज्ञको आयोजना गर्नका लागी वडाले पहल गर्ने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले वताए । आश्रम रहेको ठाउमा खानेपानीको ब्यवस्था नभएकाले आगामी वर्षमा हरिहर क्षेत्रलाई महानगर संग समन्वय गरेर खानेपानी सुलभ बनाउन प्रयत्न गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे ।
विभिन्न उत्सवहरु जस्तै साउने सोमबार, महाशिवरात्री मेला, बालाचतुर्दशी मेला, हनुमान जयन्त्री, श्रीकृष्ण अष्टमी, रामनवमी लगायतका पर्वहरुमा विशेष पुजाआजा हुदै आएको र आश्रममा १५ हजारको अक्षयकोष स्थापना गरे अक्षयकोष दाताको वार्षिकी तथा सोह्र श्राद्धमा तर्पण दिने ब्यवस्था समेत रहेको आश्रमले जनाएको छ । हाल सम्म १७ जना अक्षयकोष दाता रहेको र यसलाई थप गर्दै लैजाने आश्रमको योजना रहेको छ ।

LEAVE A REPLY