चितवन, साउन २० l भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा भैरहेको पुनःमतदानमा मतदाताको उत्साह कम देखिएको छ । अहिलेसम्म २० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । पानी परिरहेकोले मतदान केन्द्रमा मतदाताको उपस्थिति कम देखिएको छ । जिल्ला बाहिर रहेका मतदाता पहिले जसरी गाउँ नफर्किएकाले पनि चहलपहल कम देखिएको हो । १९ नम्बर वडामा ३ हजार ८९७ मतदाता रहेकोमा वैशाख ३१ को चुनावमा २ हजार ८ सय ९७ मत खसेको थियो । यसपटक योभन्दा कम मत खस्ने सम्भावना देखिएको छ । जम्मा २९ वडा रहेको भरतपुरमा २० नम्वर वडाको पनि मतगणना बाँकी छ ।

शुक्रबार बेलुकीदेखि मतगणना सुरु हुने हो भने शनिबार दिउँसोसम्ममा अन्तिम नतिजा आउनेछ । यसअघि भरतपुरमा एउटा वडाको मतगणना गर्न ८ देखि १० घण्टा लागेको थियो । मतगणना शुक्रबार बेलुकादेखि गर्ने या शनिबार बिहान भन्ने टुंगो लागेको छैन ।

२० नम्वर वडामा ३ हजार ३०२ मत खसेको छ । १९ र २० नम्बर वडाको मतगणना गर्न बाँकी हुँदा मेयरमा एमालेका देवी ज्ञवालीको ४० हजार ९८० र कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालको ४० हजार १९४ मत छ । @ujyaaloonline.com

LEAVE A REPLY