चितवन, साउन १७ l भरतपुर महानगरपालिका १९ नम्बर वडामा साउन २० गते पुनः मतदान हुने भएपछि १९ नम्बर वडाको मतपत्र जलाइएको छ ।

दलीय प्रतिनिधि र सरोकारवालाको रोहवरमा मतपत्र जलाइएको हो । भरतपुर १९ मा मंगलबारदेखि नै मौन अवधि सुरु भएको छ । १९ वडाका २ हजार ८ सय ६८ मध्ये २ हजार २ सय मत गनिसकेपछि मतपत्र च्यातिएको थियो । १९ नम्बर वडापछि २० नम्बरको मात्र मतगणना बाँकी रहन्थ्यो । यी दुई वडाको मत गन्न थाल्नुअघि नेकपा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवाली र माओवादी केन्द्रका उम्मेद्वार रेणु दाहालबिच ७ सय ८४ मतको अन्तर थियो । २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा २७ वटा वडाको गणना सकिएको छ । १९ मा मतदान पछि र २० को पुरानै मत गणना हुने छ ।

१९ नम्बर वडाका सबै मतदान केन्द्रका मतपत्र एकैठाउँ मिसाएर मतगणना भइरहेको समयमा मतपत्र च्यातिएकाले पूरै वडामा मतदान गर्नुपरेको हो । ३ हजार ७ सय ९७ मतदाता रहेको १९ नम्वर वडामा तीन मतदान केन्द्र रहेको छ ।

भरतपुरमा मंगलबार बसेको सर्वपक्षीय बैठकले २० गते चुनाव गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा चुनावको मिति तय गर्न सोमबार मात्र चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेलाई निर्देशन दिएको थियो । त्यो निर्देशन अनुसार चितवनका मुख्य निर्वाचन अधिकृत न्यौपानलेले मंगलबार सर्वपक्षीय बैठक आह्वान गरेर चुनावको मिति तोक्नु भएको हो ।  १९ नम्बर वडामा आफूहरुले सोचे जति मत नआएपछि माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए । त्यसपछि निर्वाचन आयोगले त्यहाँ पुनः चुनाव गर्ने निर्णय गरेको थियो । पुनः चुनाव गर्ने निर्णयविरुद्ध परेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि त्यहाँ २० गते चुनाव हुन लागेको हो । @ujyaaloonline.com

LEAVE A REPLY