पोखरा, २५ कात्तिक  l पोखरामा जारी बृहत् सफाइ अभियानको ७६ औं श्रृंखला फूलबारीस्थित समितरादेखि मणिपाल शिक्षण अस्पतालसम्म उल्लेख्य सहभागिताबीच सम्पन्न भएको छ ।
हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने उद्देश्यले सञ्चालित कार्यक्रममा झण्डै ७ टन फोहोर मैला संकलन गरिएको सामाजिक अभियन्ता शिवप्रसाद बास्तोलाले जनाएका छन् ।
पोखरा ११ का वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले राष्ट्रिय गान बजाएर शुभारम्भ गरेको कार्यक्रममा कन्या क्याम्पस पोखराका क्याम्पस प्रमुख सुरेश मानन्धरले उपस्थित सहभागीलाई सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए ।
यसपटकको सफाइ अभियानमा तीन वटै सुरक्षा निकाय, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, गोरखा फाइनान्स कन्या क्याम्पस पोखरा, शिवशक्ति मावि, मनकामना बोर्डिङ स्कुल, भाष्कर मेमोरियल बोर्डिङ स्कुल, मणिपाल शिक्षण अस्पताल, फूलबारी क्लब, अभियान क्लब महिला उपसमिति, ड्यामसाइड टोल विकास संस्था, स्थानीय संघसंस्था, विभिन्न क्षेत्रका सामाजिक अभियन्ताहरुको ऐक्यबद्धता रहेको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिएका छन् ।
यसअघि गोरखा फाइनान्सका तर्फबाट सफाइ अभियानका लागि पाँच प्याकेट डिस्पोजल ग्लोब, पाँच थान डोको र पाँच थान कुचो, पोखरा ग्रिनमार्ट प्रालिका तर्फबाट पाँच प्याकेट डिस्पोजल ग्लोब सहयोग स्वरुप उपलब्ध भएको थियो ।
कार्यक्रममा उपस्थित सहभागीलाई फूलबारी क्लबका सचिव दामोदर आचार्यले धन्यवाद ज्ञापन गरेका थिए ।
७७ औं हप्ताको सरसफाइ अभियान बैदाम–खहरेस्थित फेवाताल किनारमा हुने जनाइएको छ ।

LEAVE A REPLY