काठमाडौं, असार ७ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बूढीगन्डकी जलविद्युत् आयोजना कमिसनको कब्जामा गएको आरोप लगाएका छन् ।

यही अवस्थामा यो आयोजना बन्न नसक्ने भन्दै उनले बूढीगन्डकी बचाऊ अभियान सन्चालन गर्न सबैलाई आग्रह पनि गरेका छन् ।

सार्वजनिक खरिद ऐनविपरीत गइ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि चिनियाँ कम्पनीलाई आयोजना ठेक्का दिइएको र त्यसमा अर्बौंको खेल भएको उनको दाबी छ ।

नयाँ शक्ति पार्टीले बुधबार राजधानीमा गरेको कार्यक्रममा सहभागी सत्तारुढ एवं प्रतिपक्षी दलका नेताहरुले पनि नेपालको हितविपरीत बूढीगन्डकी आयोजना विदेशीलाई दिएको आरोप लगाए ।

उनीहरुले यो आयोजना स्वदेशी लगानीमा नै बनाउनुपर्नेमा जोड पनि दिएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, नेकपा एमालेका सांसद आनन्द पोखरेलसहित विवेकशील पार्टी, विज्ञ एवं निजी क्षेत्रका प्रतिनिधिले स्वदेशी लगानीमा नै बूढीगन्डकी आयोजना बनाउनुपर्ने बताएका छन् ।

नेपाल र नेपालीको हितका लागि यो आयोजना स्वदेशी पुँजीमा नै बनाउनुपर्ने र पैसाको कमी नरहेको उनीहरुको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री दाहालले राजीनामा गरिसकेपछि तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले चिनियाँ कम्पनीलाई यो आयोजना बनाउन दिने गरी सम्झौता गरेका थिए ।

१२ सय मेगावाट क्षमताको बूढीगन्डकी आयोजनाको कुल लागत २ खर्ब ५९ अर्ब लाग्ने अनुमान गरिएको छ ।

तत्कालीन सरकारले आयोजना बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनी गेजुवा ग्रुप अफ कम्पनीलाई दिने निर्णय गरेको थियो । – imagekhabar

LEAVE A REPLY