गायिका तथा सञ्चारकर्मीका रूपमा दुई दशकभन्दा लामो अवधिदेखि श्रोता तथा दर्शकमाझ लोकप्रिय नाम हो— कोमल वली । लोकगायिकाका रूपमा सांगीतिक यात्रा प्रारम्भ गर्ने यी गायिका पछिल्लो एक दशकदेखि तीज गीतका कारण प्रत्येक वर्ष चर्चामा आइरहन्छिन् । २०५० सालमा रेडियो नेपालमा प्रवेश गरेर सञ्चारकर्मीको समेत छवि बनाएकी गायिका वली कुशल समाचारवाचक हुन् । दर्जनौं लोकगीत तथा थुप्रै तीज गीतकी यी गायिका पछिल्लो ६ महिनायता राजनीतिमा समेत सक्रिय छिन् । गत फागुनमा रेडियो नेपालको २३ वर्ष पुरानो जागिरबाट राजीनामा दिँदै राजनीतिमा होमिएकी गायिका वली सांगीतिक कर्ममा भने उत्तिकै सक्रिय छिन् । यो वर्ष पनि आधा दर्जन तीज गीत गाउन भ्याएकी गायिका वली पछिल्लो एक महिनादेखि तीज विशेष कार्यक्रमहरूमा व्यस्त छिन् । तीजको पूर्वसन्ध्यामा गायिका वलीसँग साप्ताहिकका कृष्ण भट्टराईले लामै कुराकानी गरेका थिए ।

तीज आँगनमै आइपुगेको छ, कत्तिको व्यस्त हुनुहुन्छ ? 
मलाई त झन्डै एक महिनाअघिदेखि नै तीज लागिसकेको छ । म साउन ७ गतेदेखि नै तीजका कार्यक्रममा सक्रिय भैरहेकी छु । अहिले तीज मुखमै आउँदा व्यस्तता थप बढेको छ ।

तीजको यो साताको व्यस्तताचाहिँ कस्तो छ ?
आज शुक्रबारदेखि ठ्याक्कै एक सातासम्म झन्डै एक दर्जनभन्दा बढी कार्यक्रममा सहभागी हुनु छ । काठमाडौंसहित बुटवल, स्याङ्जा, पोखरा, चितवन आदि सहरमा सञ्चालन हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछु ।

अघिल्ला वर्षका तीजको तुलनामा अहिले व्यस्तता घटेको हो कि उस्तै छ ?
रमाइलो कुरा के छ भने म झन्डै सात वर्षपछि पहिलो पटक आफ्नै देशमा तीज मनाउँदै छु । अघिल्लो वर्ष म अस्ट्ेरलियामा थिएँ । त्योभन्दा अघिल्लो वर्ष युरोपमा थिएँ । तीजका बेला म प्राय: नेपालबाहिरै हुन्थें, यसपटकचाहिं प्रदेश नम्बर २ को निर्वाचनका कारण पनि मैले विदेश जाने रहर गरिनँ । यद्यपि जापानसहितका देशबाट निम्तो नआएको भने होइन ।

भन्नाले तपाईंलाई विदेशको तीज पो मिस भैरहेको होला ? 
नढाँटी भन्ने हो भने मैले विदेशको तीज मिस गरिरहेकी छु । स्वदेशमा भन्दा विदेशमा उल्लासमय तरिकाले तीज मनाइने मेरो अनुभव छ ।

विदेशका तीज कार्यक्रम कस्ता हुन्छन् ?
वर्षभरी काममा व्यस्त हुने नेपाली दिदीबहिनीहरू तीजको मौका पारेर एकजुट हुन्छन् । आफ्नो बिदा मिलाएर भेला हुने नेपाली चेलीहरू चार–पाँच घण्टा लामा तीज विशेष कार्यक्रममा निरन्तर नाचिरहन्छन् । नेपालमा कमै देखिने परम्परागत गरगहना तथा पहिरन त्यहाँ देख्न पाइन्छ । आफैं कमाउने भएकाले होला, उनीहरू नेपालबाटै विभिन्न डिजाइन र शैलीका गरहगहना एवं परम्परागत पहिरनहरू मगाउँछन् । सबै सहभागी महिला नेपाली पारामा आफ्नै किसिमले झकिझकाउ भएको देख्दा मनै आनन्दित हुन्छ ।

तपाईंलाई त कोमल वली होइन तीज ओली भनिन्छ नि, कस्तो लाग्छ ?
मलाई असाध्यै रमाइलो लाग्छ । तीजलाई सांगीतिक उत्सवको स्वरूप प्रदान गर्ने कार्यमा मेरो पनि योगदान छ जस्तो लाग्छ । तीजमा मेरा गीतले क्रान्ति नै ल्याएको कुरा बताउन मलाई अप्ठ्यारो लाग्दैन । मेरा गीत परिवर्तनका प्रतीक हुन् भन्दा फरक पर्दैन ।

यो वर्ष तपाईंको तीज गीत केही शान्त छ नि ? 
विगतका गीत पनि शान्त नै थिए । बरु यो वर्षको मेरो तीज गीत अझ हट र हिट छ । ओए, शिव मलाई चाहिएन पोइ शीर्षकको मेरो नयाँ गीतले चर्चा पाइरहेको छ ।

विगतमा पोइला जान पाम, गोजीमा गाँठ भा’को जस्ता खरा शब्दहरू प्रयोग गर्नुहुन्थ्यो ? 
यो वर्षको गीत मैले विगतमा गाएका गीतकै श्रृंखला हो । गत वर्ष पोइ चाहियो भनेर गीत गाउने मेरो लास्टैचोटि हो भनेकी थिएँ । त्यही गीतमा गायक पशुपति शर्माले मलाई राजनीति गर्ने सल्लाह दिएका थिए । उनको सल्लाहअनुसार म गत असोजदेखि राजनीतिमा पनि आएँ । यसपटक म बाँच्ने देशकै लागि हो भनेर गाएकी छु । यसपटकको गीतमा मैले राजनीतिक सन्देश पनि समावेश गरेकी छु, जसलाई
दर्शक तथा श्रोताहरूले मन पराउनुभएको छ ।

पहिले गीतमार्फत श्रीमान् खोज्नुहुन्थ्यो, यसपटक देशप्रेम व्यक्त गर्नुभएको छ, किन ?
वास्तवमा तीज गीत भनेकै बिलौना हो । तीजको अवसर पारेर श्रीमान् माग्नु, व्रत बस्नु, शिवजीको आराधना गर्नु सामान्य कुरा हो । मैले गीतमार्फत त्यो कार्य गरेकी हुँ । वास्तवमा मेरो वास्तविक जीवन जता–जता मोडिन्छ, मैले गाउने गीत पनि त्यतै मोडिएका मात्र हुन् ।

तीजको अवसरमा सयौ गीत तथा म्युजिक भिडियो निर्माण हुन थालेका छन् । एउटा तीजले यति धेरै गीत धान्न सक्छ ? 
एक शब्दमा भन्नुपर्दा धान्दैन । नयाँ–पुराना कलाकारहरूको रहरले गर्दा तीज गीतको संख्या बढेको हो । तीजमा स्वदेश तथा विदेशमा धेरै कार्यक्रम आयोजना हुने, आयोजकले पनि तीजको गीत छ त ? भनेर जिज्ञासा राख्ने, गीत लोकप्रिय भयो भने रातारात सेलिब्रेटी बनिने, टोलटोलमा आयोजना हुने तीज विशेष कार्यक्रममा सहभागिता जनाउन पाइने, चर्चामा आइने आदि कारणले गर्दा तीज गीतको संख्या यसरी बढेको हो । यी सबै कुराका बीच कलाकारहरूले तीज गीत गाएर आर्थिक रूपले सबल हुन्छु भन्नेचाहिं सोचेका छैनन्, किनभने तीज गीत गाएर मात्र आर्थिक रूपमा सवल हुने कुरा असम्भव छ ।

सस्तो लोकप्रियताका लागि तीज गीतमा विकृति पनि भित्रिएको छ नि त ? 
त्यो त हो, तर यो कुरा कसरी बुझाउने, कसरी सम्झाउने ? सस्तो लोकप्रियताकै कारण तीज गीतमा विकृति भित्रिएको हो भन्ने हामी सबैलाई थाहा छ, तर यसलाई कसले नियन्त्रण गर्ने ?

बजारमा आएका तीज गीतलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
बजारमा अहिले पाँचवटा शैलीका तीज गीत सुन्न पाइन्छ । पहिलो शैली हो— परम्परागत तीज गीतको, जहाँ दु:ख र वेदना व्यक्त हुन्छन् । यस्ता गीतको संख्या अत्यन्त न्यून छ । दोस्रो हो— सन्देशमूलक तीज गीत जहाँ यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर सिकाइएको हुन्छ । तेस्रो हो— माया–पिरतीका प्रसंग । यस्ता धेरैजसो गीत झ्याउरे भाकामा तयार पारिएका छन् । चौथो शैलीले हास्यव्यंग्यलाई रोजेको छ । भिडियोमा हास्यकलाकारहरूलाई समावेश गरेर तीज गीतलाई कमेडी फ्लेवर दिइएको छ । पाँचौं शैली हो— रत्यौली खालका अश्लील गीत, जसमा वस्त्र, आभूषणसहित नृत्यमा समेत अश्लीलता पाइन्छ । त्यसो त यो वर्ष बजारमा रक तीज गीत, पप तीज गीत, आधुनिक तीज गीत पनि आए । तीमध्ये कतिपय गीतमा त तीजको ‘त’ पनि उल्लेख भएको पाइँदैन । रातो सारी लगाएर नृत्य गर्दैमा सबै गीतलाई तीज गीत भन्न मिल्दैन । अहिले सामाजिक सञ्जालमा त्यस्तै गीतको विरोध भैरहेको छ । समय र परिस्थितिअनुसार त्यस्ता गीत बिस्तारै फिल्टर हुँदै जान्छन् ।

युट्युबमा दर्शक बढाउन तीज गीत छाडा बनाइएका हुन् भनिन्छ नि ?
कतिपय गीत यति अश्लील छन् कि हेर्नै लाज लाग्छ । युट्युबमा भ्युअर्स नै बढाउने हो भने नांगै नाचे भै’गो नि । तीज गीतमा अश्लीलता देखाउनु हुँदैन, तीज गीतमा विकृति भित्रिन दिनु हुँदैन ।

यद्यपि तीज गीतकै कारण योचाडको रौनक त बढेको छ नि ?
तीजको रौनक बढाउने काम तीज गीतहरूले नै गरेका हुन् भन्दा फरक पर्दैन । पछिल्लो समय त तीज गीत गाउनेमा गायिका मात्र छैनन्, गायकहरू पनि उत्तिकै सक्रिय छन् । तीजलाई रंगीन बनाउने कार्यमा तीज गीतको ठूलो भूमिका छ ।

एकथरी वर्ग तीजमा विरहका गीत मात्र गाइनुपर्छ भन्छ नि ? 
त्यो सरासर गलत हो । विगतमा महिलाहरूका लागि तीज मात्र एउटा यस्तो अवसर थियो, जहाँ वर्षभरि ढिकी, जाँतो, पँधेरो, चुलो–चौका गर्ने, सासू तथा नन्द–आमाजूबाट पीडित महिलाहरूले आफ्ना पीर, वेदना व्यक्त गर्न पाउँथे । त्यति बेला तीज माइत गएर आफ्नो बिलौना पोख्ने अवसर थियो । अहिले समय त्यस्तो छैन । अहिले महिलाहरू खुसी हुन थालेका, सुखी हुन थालेका छन् । उनीहरू रमाइलो मन पराउन थालेका छन् । अहिलेका महिला आफ्नो रहनसहनअनुसारकै गीत गाउन अनि सुन्न रुचाउँछन् । तीज गीतमा हाँसो, खुसी, ठट्टा हुनु हुँदैन भन्ने कुरा जायज होइन । मेरो विचारमा तीजले कलाकारहरूलाई तथा कलाकारहरूले तीजलाई परिपूरकका रूपमा साथ दिँदै आएका छन् ।

कुशल सञ्चारकर्मी हुँदाहुँदै रेडियोलाई चटक्कै छाड्नुभयो नि, किन ?
स्पष्ट शब्दमा भन्ने हो भने त राजनीतिमा आउन रेडियो नेपालको २३ वर्षे जागिरबाट अलग भएकी हुँ । मैले गत फागुन ९ मा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अधिवेशनको पूर्वसन्ध्या पारेर फागुन ६ गते बिहान रेडियो नेपालबाट राजीनामा दिएकी हुँ । रमाइलो कुरा के छ भने म फागुन ५ गते साँझसम्म पनि समाचार वाचन गरिरहेकी थिएँ ।

अहिले रेडियो कत्तिको मिस हुन्छ ? 
कति हुन्छ कति ? म पछिल्लो एक दशक भन्दा लामो समयदेखि रेडियो नेपालमा साँझको सिफ्ट इन्चार्जका रूपमा कार्यरत थिएँ । ठीक साढे ४ बजे रेडियो पुग्नुपथ्र्यो । अहिले पनि म ४ बजेपछि रेडियो जानुपर्छ भनेर झसंग हुन्छु । माइतीघरबाट अघि बढेपछि मेरो गाडीको स्टेरिङ सिंहदरबारतिरै मोडिन खोज्छ ।

पुन: रेडियोमा फर्कने सम्भावना कत्तिको छ ? 
हाम्रो पार्टी सरकारमा आयो भने रेडियो नेपालकै निर्देशक पो बनाउँछ कि ?

भूकम्पका बेला रेडियो नेपालमा तपाईंको सक्रियता प्रशंसनीय थियो नि ? 
त्यति बेला त दिन–रात नभनी काम गरियो । भूकम्पको अपडेट दिने सञ्चारगृहमा रेडियो नेपाल पनि अग्र स्थानमा थियो । त्यतिबेला हामीले असाध्यै खटेर काम गरेका थियौं । अधिकांश बुद्धिजीवीले मलाई गायिकाका रूपमा मात्र चिनेका रहेछन्, समाचारवाचिकाका रूपमा मात्र सुनेका रहेछन् । लाइभ टेलिकास्ट सहित यस्ता गम्भीर प्रस्तुतिमा म कति योग्य छु, कति सक्षम छु भन्ने कुरा उनीहरूले त्यतिबेला मात्र बुझे । म कुशल सञ्चारकर्मी पनि हुँ, पत्रकारितामा मेरो राम्रो दख्खल छ भन्ने कुरा पनि त्यही बेला प्रमाणित भयो ।

राजनीतिमा आउन कुन कुराले घचघच्याएको मान्नुहुन्छ ?
म सकारात्मक सोच भएकी व्यक्ति हुँ । म रिसाउँदिनँ, हत्तपत्त प्रतिक्रिया जनाउँदिनँ, ममा धैर्यता पनि प्रशस्तै छ । यद्यपि त्योभन्दा पनि ठूलो कुरा देशलाई परिवर्तनको खाँचो छ । हामी जस्ता देश–विदेश जाने–बुझेका व्यक्तिहरू राजनीतिमा आए मात्र देशको पुनर्निर्माण सम्भव छ भन्ने सोचले मलाई राजनीतिमा आउन बाध्य बनाएको हो । मैले कलाकारिता र पत्रकारितमा संघर्ष गरेर जे कुरा हासिल गरें, अब त्यसलाई राजनीतिमा क्यास गर्नुपर्छ भन्ने लाग्यो । पत्रकार र कलाकार भएर म सबैलाई खुसी दिन सक्छु तर परिवर्तन त गर्न सक्दिनँ । देश बनाउने र बिगार्ने कुरा राजनीतिमै भर पर्ने रहेछ । राजनीति भनेको मुलुकको आत्मा नै हो । राजनीति सुध्रियो भने देश सुध्रिन्छ । वास्तवमा म देश बनाउनका लागि राजनीतिमा आएकी हुँ ।

राजनीति गर्न राप्रपा नै किन छनौट गर्नुभएको ? 
म राजसंस्थाप्रति आस्था राख्ने मान्छे । म कुनै पनि धर्मको विरोध गर्दिनँ । सबै धर्मलाई सम्मान गर्दै नेपाल हिन्दू राष्ट्र कायम भयो भने विश्वमा एउटा हिन्दू देश त छ भन्ने होला, त्यसले पर्यटकलाई समेत नेपालतर्फ आकर्षित गर्ला । राप्रपासँग त्यो एजेन्डा छ । मेरो सोचसँग पार्टीको एजेन्डा मिलेकाले नै मैले राप्रपालाई छनोट गरेकी हुँ ।

तपाईं सहभागी भएको केही महिनामै राप्रपा फुट्यो, किन होला ? 
पछिल्लो स्थानीय निर्वाचनमा चुनाव चिन्ह गाई भएका कारण पार्टीले असफलता बेहोरेको कुरा उठेको रहेछ । मलाई भने चुनाव परिणाम अपेक्षाकृत नहुनु चुनाव चिन्हले गर्दा हो जस्तो लागेन । त्यही चिन्हकै कारण पार्टीको हाइकमाण्डमा विवाद भएछ । पार्टी फुटेपछि मैले भने संस्थापन पक्षमै रहने निर्णय गरें । एउटा पार्टीमा आबद्ध भैसकेपछि त्यसलाई परिवर्तन गरिरहन मलाई उचित लागेन ।

अन्त्यमा, तपाईंलाई सबैतिरबाट पुगिसरी आएको छ, अब विवाहचाहिं कहिले गर्ने ?
कहिले भनौं त खै ? विवाहका बारेमा मैले अहिलेसम्म केही सोचेकी छैन । अब महादेवले कहिले जुराइदिनुहुन्छ ? म त पहिलेदेखि नै महादेवको शरणमा छु, उहाँकै निर्देशनमा हिंडीरहेकी छु । अब उहाँले जहिलेको साइत जुराउनुहुन्छ, त्यही बेला होला मेरो विवाह ।

@Saptahik/ekantipur.com

 

LEAVE A REPLY