पाेखरा, ५ भाद्र l धार्मिक स्थलको भेटी व्यवस्थापन गर्न सरकारले पोहोर कात्तिकमा निर्देशिका जारी गर्‍यो । यो निर्देशिका दैनिक ५० जना वा सो भन्दा बढी र वार्षिक २० हजारभन्दा बढी दर्शनार्थी आउने नेपालमा धार्मिकस्थलका लागि थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको यो निर्देशिका २०७३ कात्तिक २ मा स्वीकृत भइसकेको छ । प्रचलित परम्परा र संस्कृतिको प्रतिकूल नहुने गरी व्यवस्थापन समितिले लिखित करारनामा गरी पुजारीको व्यवस्था गर्न सकिने व्यवस्था निर्देशिकाले गरेको हो ।

निर्देशिकमा उल्लेख छ,‘धार्मिक स्थलमा दानपत्र, शिलापत्र, लालमोहर, सनद सवाल वा त्यस्तै प्रकृतिका लिखतमा उल्लेख भए बमोजिम पुजारीको काम गर्दै आएका व्यक्तिहरुले निर्धारित आचारसंहिता पालना गर्ने गरी वैतनिक वा अवैतनिक पुजारीको रुपमा काम गर्न सक्नेछन् ।’

कानुनले भेटी व्यवस्थापनको सम्पूर्ण जिम्मा व्यवस्थापन समितिलाई दिए पनि फेवातालको बीचमा रहेको तालवाराही मन्दिरमा यो नियमले छोएको छैन । पोखराकै विन्ध्यवासिनी मन्दिरमा निर्देशिका जारी भएसँगै भक्तजनले चढाउने भेटीमा पुजारी राज चल्न बन्द भइसकेको छ ।

विन्ध्यवासिनीमा तलबमा पुजारीले काम गर्न थालिसकेका छन् । तर तालवाराही मन्दिरमा दर्शनार्थीले चढाएको भेटी पुजारीको खल्तीमा सीमित छ । मन्दिरको भौतिक पूर्वाधारमा भने पुजारीबाट कुनै सहयोग हुने गरेको छैन । केही परे समितिले नै रकम जुटाएर खर्चिने गरेको छ ।

तालवाराही मन्दिरमा प्रतिदिन सरदर ५ सय दर्शनार्थी पुग्ने अनुमान छ । उनीहरुले सरदरमा प्रतिव्यक्ति २० रुपैयाँ मन्दिरमा चढाए पनियो हिसाबले पुजारीले दिनकै १० हजार र मासिक ३ लाख रुपैयाँ कमाउँछन् । वार्षिक ३६ लाख रुपैयाँभन्दा बढी रकम ४ जना पुजारीले भागबन्डा गरेर लिन्छन् ।

१ महिनामा लगभग ३ लाख रुपैयाँ भेटी आउँछ भने वर्षमा मन्दिरमा चढाएको भेटी लगभग ३६ लाख रुपैयाँ पुजारीहरुले बाँडेर लिन्छन् ।
वर्षमा लाखौं रुपैयाँ पुजारीको पोल्टामा जाने गर्छ जुन पैसामा मन्दिरको कुनै हकअधिकार हुँदैन ।

मन्दिरमा थोरै पर्यटक जाने समयमा ३ सय र धेरै पर्यटक जाने समयमा १५ सय सम्म पर्यटक जाने गर्छन् । पर्यटक तथा धर्म गर्न गएकाले चढाएको भेटी सबै पुजारीले नै लिने गरेका छन् ।

एक पुजारी परशुराम पहारीले आफ्नो आम्दानीको स्रोत नै मन्दिरको भेटी भएको बताए । मन्दिरको पैसाले घर परिवार चलाउने काम गरेको धारण उनको छ । स्थापना कालमा एक जना पुजारी मात्र थिए ।

१ जना पुजारीलाई काम गर्न गाह्रो भएका कारण आजकाल मन्दिरमा पुजारी थपेर ४ पुजारी रहेको उनले बताए । परशुरामले मन्दिरमा पुजारी भएर काम गरेको दिनमा आफूहरुले मन्दिरलाई २ सय ५० रुपैयाँ लेबी तिर्ने गरेको बताए ।

मन्दिरका अध्यक्ष हिक्मतबहादुर कुँवरले पुजारीको लेबी दिनमा १ सय ५०भन्दा बढी नलिने गरेको धारण राखे । मन्दिरमा परशुराम पहारी, महेश्वर पहारी, कमलप्रसाद पहारी, नारायण पहारी पुजरी छन् । तालवाराही मन्दिर संरक्षण समितिका सहसचिव महेश्वर पहारीका अनुसार तालबाराही मन्दिर संरक्षण समिति अन्तर्गत वडा नम्बर १८ मा ७२ रोपनी गुठीजग्गा छ ।

उक्त गुठी अन्तर्गत रहेको १८ रोपनीमा पनि पुजारीको लागि छुट्याइएको छ । गुठीको पुजारीको छुट्याएको जग्गाको आम्दानी पुजारीले नै लिने उनको भनाइ छ । मन्दिरको नाममागाई पाल्ने, मन्दिर छाउने खरको गुठी जग्गामा सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन रहेको उनले जानकारी दिए ।

२ महिनामा १ पटक पालो आउने पुजारीको भागमा १ वर्षमा लाखै रुपैयाँ आउने गर्छ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन लाग्ने मेलाको भेटी मात्र मन्दिर संरक्षण समितिमा जाने गरेको छ ।

गएको दसैंको पूर्णिमामा ल्याएको भेटीमा मात्र लगभग २ लाख ५० हजार रुपैयाँ आम्दानी भएको पुजारी पशुराम पहारीले बताए । उनले पूर्णिमाका दिनमा जस्तो आम्दानी सधैं नहुने बताए । ‘अन्य दिनमा थोरै हुन्छ । हामीलाई धेरै आम्दानी हुदैन,’उनले भने ।

२०७२ सालको भूकम्पले चर्किएको मन्दिर अहिलेसम्म संरक्षण हुन सकेको छैन । मन्दिर संरक्षणको लागि मात्र ३ जना कर्मचारी राखिएको छ ।

अहिले मन्दिर संरक्षणको योजना नभएको अध्यक्ष कुँवरले बताए । मन्दिरको बैंकमा भएको मौजत रकम ९१ लाख रहेको साधरणसभामा कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । मन्दिर संरक्षण गर्नको लागि उक्त रकमले अपुग हुने भएकाले मन्दिर संरक्षणको कार्य नभएको अध्यक्ष कुँवरले बताए ।

LEAVE A REPLY