काठमाडौं, भदौ ६ – व्यवस्थापिका संसदको विकास समितिले बाढी तथा डुबानका कारण बिग्रिएका संरचना तत्काल मर्मत गरेर जनजीवन सहज बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले सडक, पुल, जलविद्युत लगायतका संरचना मर्मतको लागि रकमको अभाव हुन नदिन अर्थ मन्त्रालयलाई पनि निर्देशन दिएको छ । बैठकले वर्षेनी बर्खामा हुने जनधनको क्षति कम गर्न बाढी पहिरो नियन्त्रणको दीर्घकालिन कार्ययोजना बनाएर कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका निकायको ध्यानाकर्षण गराएको छ ।

यस्तै विकास समितिले बाढी र डुबानका कारण भएको भौतिक पूर्वाधारको क्षति र निर्माण सम्बन्धी कार्ययोजनाको प्रतिवेदन समितिमा पेश गर्न निर्देशन दिएको छ भने, बाढी र डुबानले पारेको प्रभाव र सेवा सञ्चालनको अवस्थाको स्थलगत अनुगमनका लागि संसदीय समिति पनि बनाउने भएको छ ।

LEAVE A REPLY