बागलुङ, २० चैत  l ६० औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमका साथ आइतवार बागलुङमा सम्पन्न भएको छ । सहकारी दिवसका अवसरमा डिभिजन सहकारी कार्यालय बागलुङ र जिल्ला सहकारी संघ लिमिटेड बागलुङको संयुक्त आयोजना तथा जिल्लास्थित विभिन्न सहकारी संघ संस्थाहरुको सहयोगमा प्रभातफेरी सम्पन्न गरिएको थियो । प्रभातफेरी पछि आयोजित मुख्य समारोहमा बोल्दै जिल्ला समन्वय समिति बागलुङका स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले सामाजिक उत्तरदायित्व सहितको आर्थिक विकासका लागि सहकारीको योगदान बढाउनु पर्नेमा जोड दिनुभयो ।
सहकारी आर्थिक विकास, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि उपयोगी माध्यम भएकाले यसका नीति नियम र मापदण्डहरुलाई पालना गर्दै अगाडि बढेर समृद्ध मुलुक निर्माणमा योगदान गर्न उहाँले सहकारी क्षेत्रलाई सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष मनकुमारी केसी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक चण्डीप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, समाजसेवी देवबहादुर श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा डिभिजन सहकारी कार्यालयले सहकारी मार्फत सञ्चारको विकास र सहकारीप्रति आम जनतामा उत्प्रेरणा ल्याउन सञ्चारमार्फत गरेको योगदानको कदर गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीलाई सम्मान गरेको थियो । यस्तै उत्कृष्ट सञ्चालकका रुपमा बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघका सञ्चालक तथा सिवाइसी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा सम्मान गरेको थियो ।
विभिन्न विधा तर्फका सहकारीहरु मध्ये बहुउद्देश्यीयतर्फ बागलुङको प्रगति बहुउद्देश्यीय, वचत तर्फ म्याग्दीको दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था र उत्पादनतर्फ पर्वतको बैशाली कृषि सहकारी संस्थालाई उत्कृष्ट संस्थाका रुपमा सम्मान गरिएको थियो ।
उत्कृष्ट कर्मचारीका रुपमा कार्यालयका सहकारी निरिक्षक होमनाथ ढकाललाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रम डिभिजन सहकारी कार्यालयका प्रमुख विष्णुप्रसाद शर्माको अध्यक्षता, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमको स्वागत र कोषाध्यक्ष भुपाल चालिसेको सञ्चालनमा सम्पन्न्न भएको थियो । पुरस्कृत तथा सम्मानितहरुका बारेमा डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक डिलबहादुर केसीले जानकारी गराउनु भएको थियो ।
डिभिजन सहकारी कार्यालय बागलुङले शनिवार आयोजना गरेको वकृत्वकला प्रतियोगिताका विजयी कर्मचारीहरुलाई पनि मुख्य समारोहमा पुरस्कार वितरण गरिएको थियो ।
दीगो आर्थिक विकास लक्ष्य प्राप्तीका लागि सहकारी विषयक वकृत्वकलामा गुहेली सञ्चार सहकारी संस्थाका सम्पादक नविन शिशिर विक प्रथम, आदर्श सञ्चार सहकारी संस्थाका सम्वाददाता रेणु केसी द्वितिय, सिवाइसी वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक नवराज शर्मा तृतिय र आस्था वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक अमरबहादुर थापाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो ।

LEAVE A REPLY