काठमाडौं ,३ बैशाख । वाणिज्य बैंकहरुले बचत खाताको व्याज बढाउन थालेका छन् । साधारण बचत खातामा ३/४ प्रतिशत मात्र व्याजदर दिँदै आएका बैंकहरुले यसलाई झण्डै दोब्बर बनाएका छन् ।

एनआईसी एशिया बैंक र सेञ्चुरी कमर्सियल बैंकले बचत खातामा ८ प्रतिशत व्याजदर प्रस्ताव गरेको छ ।

एनआइसी एशियाले ‘सम्मुनती बचत खाता’ नाम दिएर ८ प्रतिशत ब्याजदर प्रस्ताव गरेको हो । बैंकले शुन्य मौज्दातमा यो खाता सुविधा दिनेछ र, दैनिक कारोबार ५ लाखसम्म गर्नेले सबै शाखाबाट कारोबार गर्न सक्ने व्यवस्था मिलाएको छ ।

यस्तै सेञ्चुरी कमर्सियल बैंकले ‘नयाँ वर्षको नयाँ सौगात’ भन्दै ८ प्रतिशत ब्याजदरको घोषणा गरेको छ ।सिभिल बैंकले पनि बचत खातामा ५ देखि ७ प्रतिशतसम्म ब्याज दर घोषणा गरेको छ ।

राष्ट्र बैंकले बैंकहरुलाई पनि कल निक्षेपको व्याजदर बचत खातामा दिने व्याज दरसँग समान बनाउन निर्देशन दिएको छ ।

यदि व्याजदर नबढाउने हो भने करिब १२ वाणिज्य बैंकसँग रहेको निक्षेपमा अन्य संस्थाहरुले धावा बोल्ने सम्भावना देखिएको थियो । गत पुससम्मको तथ्यांक हेर्दा त्यस्ता १२ वाणिज्य बैंकसँग मात्रै पुससम्ममा २ खर्ब ६ अर्ब रुपैयाँको कल निक्षेप छ ।

यस्तो चुनौती सबैभन्दा धेरै सिद्धार्थ बैंक, मेगा बैंक, प्राइम बैंक, एनसीसी बैंक, एनआईसी एशिया बैंक, लक्ष्मी बैंक, प्रभु बैंक, नबिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एभरेष्ट बैंकलाई देखिएको थियो ।

सेञ्चुरी कमर्सियल र एनआईसी एशियाले व्याज दर बढाइसकेका छन् यसले अन्य संस्थाबाट पनि ब्याज दर वृद्धिको प्रस्ताव आउने सम्भावनालाई दरिलो बनाएको छ । यी संस्थाहरुको कल निक्षेपको हिस्सा कुल निक्षेपको २० देखि ३६ प्रतिशतसम्म रहेको देखिएको थियो ।

@onlinekhabar

LEAVE A REPLY