काठमाडौं, जेठ २४ – प्रेमिकाको हत्यामा संलग्न अभियुक्त दोलखा, वैतेश्वर गाउँपालिका-२ का २४ वर्षका प्रशान्त तामाङलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

मंगलबार पक्राउ परेका उनलाई बुधबार सार्वजनिक गरिएको हो । काठमाडौँ महानगरपालिका-७ गङ्गाहिटीमा कोठा भाडामा लिएर बस्दै आएकी रामेछाप, रस्नालु-८ की २३ वर्षकी सञ्चिता पाख्रिन तामाङको कोठामा बाहिरबाट चाबी लगाएको अवस्थामा शव गएको वैशाख ८ गते फेला परेको थियो ।

अभियुक्त प्रशान्त र मृतक सञ्चिताबीच झण्डै दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको र २०७४ असारमा विवाह गर्ने सल्लाह भएको भए पनि सञ्चिताको पेटमा रहेको बच्चा प्रशान्तले राख्न चाहेको तर सञ्चिताले फालिदिएपछि आपसी विवाद हुँदा प्रशान्तले गत वैशाख ४ गते सलले घाँटी कसेर सञ्चिताको हत्या गरी कोठामा बाहिरबाट ताला लगाई फरार भएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

अनुसन्धान पश्चात अभियुक्त प्रशान्तलाई दोलखा प्रहरीको सहयोगमा उक्त महाशाखाको प्रहरीले पक्राउ गरी थप कानुनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाएको छ । @रासस

LEAVE A REPLY