काठमाडौं, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज त्यसतर्फ जाँदै छन् । देउवाले प्रधानमन्त्री भएपछि पहिलोपटक विदेश भ्रमण गर्न लागेका हुन् ।

देउवा नेपाल वायुसेवा निगमको बुधबार बिहान १०ः३० बजेको नियमित उडानबाट नयाँदिल्लीतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ जान लागेको देउवा नेतृत्वको भ्रमण टोलीमा पत्नी डा. आरजू राणा देउवासहित ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल रहेको छ ।

नयाँदिल्लीमा बिहीबार द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा प्रधानमन्त्री देउवा साँझ अबेरसम्म अति व्यस्त हुनेछन् । भारत भ्रमणको मुख्य लक्ष्य र उद्देश्य पनि सोही दिन पूरा हुनेछ ।

भारतको बाह्य मामिला मन्त्रालयसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार भोलि अपराह्न नयाँदिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि उनले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् ।

भोलि साँझ नै प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

LEAVE A REPLY