भक्तपुर, भदौ १७ l सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पूर्ण रुपमा सफल भएको बताउनु भएको छ ।

शनिबर भक्तपुरमा नेपाल तरुण दल सिन्धुपाल्चोकले आयोजना गरेको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन सन्दर्भमा बृहत छलफल तथा तरुण भेलामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘प्रधानमन्त्रीको भारत भ्रमण पूर्ण रुपमा सफल भएको छ, विगतमा भारतमा भएको सहमति र सम्झौताको नोक्सान कम गर्न तथा देशको आर्थिक सम्बृद्ध गर्न भ्रमण सफल भएको हो ।’

मधेशमा आगो बालेर आएका मधेशवादी दललाई नेपाली कांग्रेसले एक ढिक्का बनाएर निर्वाचनमा ल्याएको बताउँदै उहाँले यसले सकारात्मक ढंगले निर्वाचनको वातावरण बनेको बताउनुभयो ।

संविधानको कार्यान्वयनका लागि स्थानीय तह, प्रतिनिधी सभार र प्रदेश सभाको निर्वाचन हुनु आवश्यक रहेको बताउँदै मन्त्री बस्नेतले तीनै तहको निर्वाचन सम्पन्न भएसंगै संविधान कार्यान्वयन हुने बताउनुभयो ।

मुलुक जनता र लोकतन्त्रले जित्नुपर्छ भनेर सरकारले निर्वाचन आयोगको सहमति अनुसार निर्वाचनको मिति घोषणा गरेको बताउँदै उहाँले काँग्रेसलाई आफू हार्नुसंग भन्दा पनि मुलुक र लोकतन्त्रलाई जिताउन लागिपरेको बताउनुभयो ।नेपाल तरुण दल सिन्धुपाल्चोकका उपाध्यक्ष सगुन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिन्धुपाल्चोकका नेता तथा तरुण कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

@unn.com.np

LEAVE A REPLY