जेष्ठ ३०, २०७४- न्यायपरिषदले प्रधानन्यायाधिशको नियुक्तिका लागि योग्यता पुगेका ६ जना न्यायाधीशहरुको नाम संवैधानिक परिषदलाई सिफारिस गरेको छ ।

मंगलबार बसेको न्यायपरिषदको बैठकले कामू प्रधानन्यायाधीश गोपाल पराजुलीसहित  न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चालेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस भएको हो ।

बैठकले कामू प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेरसम्बन्धी विवाद समेत टुंग्याउँदै उनको जन्ममिति २०१० साल बैशाख १६ गते कायम गर्ने निर्णय समेत गरेको छ । ‘पूरा जन्ममिति खुलेको देखिएकोमा त्यसलाई आधार नमानी नागरिकताको प्रमाणपत्रमा उल्लेखित वर्षका आधारमा हुन आउने जन्ममितिलाई कायम गरेको प्रधान न्यायाधीशको २०७३ पुस १ गतेको निर्णय कानून विपरित भई बदर हुने र शैक्षिक योग्यताको प्रमाणपत्रमा खुलेको पूरा जन्ममितिलाई कायम गर्ने ठहर गरेको छ,’ दुई दिनअघि सर्वोच्च अदालतले गरेको आदेशलाई उदृत गर्दै न्यायपरिषदले निर्णय गरेको छ, ‘सर्वोच्च अदालतको उल्लिखित आदेश समेतका आधारमा तत्कालीन माननीय न्यायाधीश गोपाल पराजुलीको जन्ममिति २०१० बैशाख १६ गते कायम गरी त्यसको जानकारी संवैधानिक परिषदमा पठाई दिने ।’

न्यायपरिषदको निर्णय र त्यसका आधारमा कायम भएको अभिलेखका आधारमा आगामी बैशाख १६ गतेसम्म पराजुली प्रधानन्यायाधिश हुनेछन् ।

LEAVE A REPLY