पोखरा, ३० कात्तिक l प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो चरणमा प्रदेश ४ का गोरखा, लमजुङ र म्याग्दी सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएको छ । पहिलो चरणमा हुने ६ जिल्ला मध्ये प्रदेश नम्रब ४ का ३ जिल्ला अति संवेदनशीलमा रहेका हुन् । तीमध्ये गोरखामा ‘हेभिवेट’ का उम्मेदवार प्रतिष्पर्धा हुनु र दलीय गठबन्धन र विप्लव माओवादीको कारण सुरक्षा निकायले अति संवेदनशील मान्दै उच्च सुरक्षा सतकर्ता अपनाएको क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले बताए ।

उनले स्थानीय तह निर्वाचनको तुलनामा अहिले सुरक्षा थ्रेट बढी भएकोले सोही अनुसार सुरक्षा योजना बनाएको उल्लेख गरे । स्वच्छ र निष्पक्ष निर्वाचनका दलिय गठबन्धन, विप्लव माओवादी र खुल्ला सीमा प्रमुख चुनौती रहेको उनको भनाई थियो । दलको आचारसंहिता कार्यान्वयन गराउन कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले सहरी क्षेत्रमा घटना भएको ५ देखि १० मिनेटभित्र सुरक्षाकर्मी पुग्छन् भने अन्यत्र बाटो सहज नभएको ठाउँमा ३० देखि ४५ मिनेट भित्र सुरक्षाकर्मी पुगिसक्नेछन् । उहाँले मतदानस्थलमा सुरक्षाका लागि भित्री घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहने छन् भने बाहिरी घेरामा नेपाली सेनालाई खटाइने सुरक्षा व्यावस्था मिलाएको अर्यालले बताए ।

सशस्त्र प्रहरी र नेपाली सेनाले मतदान केन्द्रलाई १९ पटकसम्म अनुगमन गर्ने किसिमको सुरक्षा योजना रहेको उनको भनाई थियो । उनले सुरक्षामा कुनै समस्या देखिँदैन तर मतदान प्रक्रियामा ढिलाई भने हुन सक्ने वताउनु भयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बमले सुरक्षा दृष्टिकोणले प्रदेश ४ मा २०५ अतिसंवेदनशील, ४६० संवेदनशील र ५८२ सामान्य मतदान केन्द्र रहेको छ । यस प्रदेशका कुल ११ जिल्लामा १२ सय ४७ मतदानस्थल छन् भने २ हजार ५१ वटा मतदान केन्द्र रहेका छन् ।

मंसिर १० मा पहिलो चरणमा हुने निर्वाचनमा गोरखाका ४९ मतदानस्थल अतिसंवेदनशील, ४१ संवेदनशील र २ वटा सामान्य छन् ।लमजुङमा १८ वटा अति संवेदनशील, ४९ संवेदनशील र ३६ सामान्य छन् भने म्याग्दीका २५ मतदानस्थल अति संवेदनशील, ३६ संवेदनशील र ११ सामान्य गरी वर्गिकरण गरि सुरक्षा व्यवस्था मिलाएको बताए ।

यसरी ३ जिल्ला गोरखा, लमजुङ र म्याग्दीमा गरी अति संवेदनशील मतदानस्थल ९२ वटा रहेका छन् । पहिलो चरणमा यस प्रदेशका गोरखा, लमजुङ, म्याग्दीसहित, बागलुङ, मनाङ र मुस्ताङमा मतदान हुँदैछ । सुरक्षाका लागि नेपाल प्रहरीका ८ हजार, म्यादी प्रहरी १० हजार ७ सय भित्री घेरामा परिचालन हुनेछन् । मतदानस्थलमध्ये अति संवेदनशीलमा १५ जना, संवेदनशीलमा ११ जना र सामान्यमा ८ जना नेपाली प्रहरी र म्यादी प्रहरी रहनेछन् । प्रदेश नम्बर ४ मा १२ सय ४७ मतदान स्थलमा २ हजार ९१ मतदान केन्द्र रहेका छन् । ती केन्द्रमा १५ लाख ६८ हजार मतदाता मतदानमा सहभागी हुने छन् ।

  • सागर राज तिमिल्सिना

LEAVE A REPLY