1. काठमाण्डु, २६ चैत – सरकार नेतृत्व कर्ता नेकपा (माओवादी) केन्द्र र प्रमुख प्रतिपक्षी एमालेबीच सम्बन्ध सुधार गरेर अगाडि बढ्ने सहमति भएको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बालुवाटारमा भएको भेटमा दुई पार्टीबीचको सम्बन्ध सुधार गर्ने सैद्धान्तिक सहमति भएको हो । ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार बनाएपछि एमाले माओवादी नेतृत्वसँग चिढिंदै आएको छ । बालुवाटार स्रोतका अनुसार भेटमा प्रचण्डले सीमाकंन बाहेक संविधान संशोधनका बाँकी विषयमा सहयोग गर्न आग्रह गरेका थिए ।

सिमाकंन विवाद संघीय आयोग मार्फत टुंग्याउने गरी अन्य विषयमा संविधान संशोधन गर्दा मधेसी मोर्चा पनि सहमतिमा आउने र ३१ बैशाखको घोषित निर्वाचन सम्भव हुने उनको भनाई थियो ।

‘तपाईहरुको बिमति सिमांकनमा मात्र हो , संघीय आयोगमार्फत सिमांकन टुंगो लगाउने गरी अरु विषयमा संविधान संशोधन गर्न सहयोग गर्नुस्’ प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘र यसो गर्दा तपाई हाम्रो सम्बन्ध पनि सुधार हुन्छ, सहकार्यको वातावरण बन्छ ।’

जवाफमा ओलीले मधेसी मोर्चा सिमांकन थाती राखेर संविधन संशोधन गर्दा निर्वाचनमा सहभागी हुने सुनिश्चितता भए सहकार्यका लागि तयार रहेको बताए । त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले सिमांकन बाहेकका विषयमा सहमत भए एमालेप्रतिको आशंका घटेर जाने मधेसमा समेत एमाले प्रति सकारात्मक वातारण निर्माण हुने उल्लेख गरेका थिए ।

भेटमा सहभागी माओवादी केन्द्रमा नेता नारायणकाजी श्रेष्ठका अनुसार संविधान संशोधन र निर्वाचन लगायत विषयहरु सहकार्यका साथ अघि बढ्ने सहमति दुई दलबीच भएको छ । ‘सकारात्मक कुराकानी भयो,’ श्रेष्ठले भने ‘मुलुकका हितमा मिल्ने जति विषयमा मिलेर काम गरौं भन्ने भएको छ ।’

 

LEAVE A REPLY