पोखरा जेठ १८ गते । पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ को वडा कार्यसमितिले वडा कार्यालय चापाकोट वाम्दीमा पद वहाली गरेको छ । नवनिर्वाचित वडा अध्यक्ष विष्णुप्रसाद पराजुली सहित वडा सदस्यहरु भरतराज भण्डारी, दुर्गावहादुर घले, गिता क्षेत्री र यमकुमारी सुनारलाई वडा सचिव शेरवहादुर कुँवर सहितको कर्मचारी टोलीले स्वागत गरेको थियो । पदवहाली भएपछि वडा अध्यक्ष विष्णुप्रसाद पराजुलीले कुनैपनि आग्रह पूर्वाग्रह नराखी सवैको काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । हिजो म कुनै पार्टीको मात्रै थिए, तर अव निर्वाचित भएपछि, सवैको साझा जनप्रतिनिधी हो, त्यसैले राजनीति भन्दा माथि उठेर सवैको साझा हितको लागि काम गर्छु, वडा अध्यक्ष पराजुलीले जोड दिनुभयो । सवै दलको साझा सहमति र सहकार्यमा वडा नं २३ को समृद्धि हासिल गर्ने आफ्नो योजना रहेको पराजुलीले वताउनुभयो । पदवहाली कार्यक्रममा नेपाली कांग्रेस २३ का सभापति रामकाजी गुरुङ्ग, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार भूमि पराजुली तथा एमालेका शुकवहादुर खत्रीले वडा कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
वडा कार्य समितिको आजै वसेको पहिलो वैठकले हर्पन र खहरे खोलाको दीर्घकालिन नियन्त्रण तथा वैदाम पामे ठूलाखेत घाँटीछिना पञ्चासे मोटरवाटो कालोपत्रे गर्ने सहित विभिन्न ६ वटा निर्णयहरु गरेको छ । वैठकले शिक्षा र स्वास्थ्य क्षेत्रका लागि केन्द्रीत गरी १२ शैयासम्मको अस्पताल निर्माणको लागि पहल गर्ने तथा सिद्ध वराह उच्च माविलाई वहुमुखी क्याम्पस वनाउन प्रक्रिया थाल्ने निर्णय गरेको वडा सचिव शेरवहादुर कुँवरले जानकारी दिनुभयो । वडा वैठकले तत्कालै एक घर एक धारा अभियान थाल्ने र आवश्यक स्थानको पहिचान गरि विभिन्न स्थानमा पक्की मोटरेवल पुल र विभिन्न सडकहरुको स्तरोन्नती गर्ने अभियानलाई अगाडि वढाउने निर्णय पनि भएको नवनिर्वाचित वडा अध्यक्ष विष्णुप्रसाद पराजुलीले जानकारी दिनुभयो । वडा अध्यक्ष पराजुलीले आफ्नो ५ वर्षे कार्यकालमा गर्ने विकासका प्राथमिक योजना सहितको कार्ययोजना छिट्टै सार्वजनिक गरि विकासका कार्यक्रम अगाडि वढाउने जानकारी समेत दिनुभयो ।

LEAVE A REPLY