पोखरा, ६ साउन । पोखरा लेडी जेसिजको शुक्रबारदेखि सप्ताहन्त शुरु भएको छ। पोखरा लेडी जेसिजले कुष्ठरोगीहरुलाई खाद्यान्न सामग्री वितरण, नेतृत्व र व्यक्तित्व क्षमता अभिबृद्धिको सहजीकरण तालिम र अपाङ्गता भएका दुई विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरेर यस बर्षको सप्ताहन्त मनाउने कार्यक्रम तय गरेको छ।
सप्ताहन्तको पहिलो दिन शुक्रबार पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुङ्गास्थित पोखरा आरोग्य आश्रममा रहेका १४ जना कुष्ठरोगीहरुलाई खाद्यान्न सामग्री वितरण ग¥यो। कार्यक्रमकी संयोजक पुष्प सापकोटा, सिनेटर नारायण शर्मा, पोखरा लेडी जेसिजका अध्यक्ष सकुन्तला कोइराला लगायतले खाद्यान्न सामग्री वितरण गरेका हुन्।
कार्यक्रमका प्रमूख अतिथि सिनेटर नारायण शर्माले विगत २० बर्षदेखि पोखरा कुष्ठरोग निवारण संघ एवम् आरोग्य आश्रमसंग नियमित रुपमा सम्बन्ध विस्तार गर्दै आएकोमा पोखरा लेडी जेसिजको प्रशंसा गरे।
जेसिजकी उपाध्यक्ष अनिता थापाले जेसिज पाठ वाचन गरेको कार्यक्रममा पोखरा लेडी जेसिज–२०१५ की अध्यक्ष जोर्जिना भट्टराई, पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए।
लेडी जेसिजकी अध्यक्ष सकुन्तला कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक पुष्प सापकोटाले स्वागत मन्तव्य, कानूनी सल्लाहकार सन्तु पौडेलले धन्यवाद ज्ञापन र सचिव शोभा भुजेलले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
साउनको ८ गतेसम्म चल्ने सप्ताहन्तमा शनिबार नेतृत्व र व्यक्तित्व क्षमता अभिबृद्धिको सहजीकरण तालिमको आयोजना गरेको छ। पोखरा लेडी जेसिजका करिव ५० जना सदस्यहरुको तालिममा सहभागिता रहने संयोजक सरिता थापाले बताइन्।
‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसिजको मूलमन्त्रलाई आत्मसाथ गर्दै आइतबार अपाङ्गता भएका दुई विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण र जेसिज सप्ताहन्तको समापन गरिने अध्यक्ष सकुन्तला कोइरालाले बताइन्।
पोखरा लेखनाथ–१६, अर्मलास्थित शान्ति मावि कक्षा ११ का सुमन परियार र विन्दवासिनी मावि कक्षा ३ की बिमाकुमारी राइलाई छात्रबृत्ति प्रदान गरिने कार्यक्रमकी संयोजक सपना गिरीले बताइन्। गिरीका अनुसार उनीहरुलाई नगद १० हजारको छात्रवृत्ति प्रदान गरिने भएको हो।

 

LEAVE A REPLY