पोखरा ३१ साउन । पोखराको फेवाताल किनार स्थित रत्न मन्दिरको सुरक्षार्थ खटिएका एक सैनिकले सहकर्मीको गोली हानी हत्या गरेका छन् ।

दार्चुला स्थायी घर भई रत्न मन्दिर भित्र सुरक्षामा खटिएका सैनिक प्युठ बसन्त लोहारले बैतडी घर भएका गणेश विष्टको सोमबार राति गोलीहानी हत्या गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ । गोली प्रहार गर्ने लोहार सैनिक नियन्त्रणमा छन् तर घटनाबारे वाहिर औपचारिक जानकारी आएको छैन ।

प्रहरीले पनि यस घटना बारे कुनै जानकारी प्राप्त नभएको जिकिर गरेको छ । आपसी मनमुटावका कारण लोहारले आफ्नै सहकर्मीमाथि गोली हानेको हुन सक्ने स्रोतको दावी छ । पोखराको फुलबारीस्थित सिद्धिबक्स गणबाट रत्न मन्दिरको सुरक्षामा सेना खटिदै आएको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको रत्न मन्दिर सर्बसाधारणको लागि खुल्ला गर्ने भनिएपनि अहिलेसम्म खुलाइएको छैन । गोलीकाण्डबारे थप विवरण आउन वाँकी छ ।

LEAVE A REPLY