पोखरा, १८ चैत l पोखरामा दोस्रो कविता कन्सर्ट हुने भएको छ । नेपालका ३ चर्चित कवि र ३ गायकगायिकालाई पब्लिक इभेन्टले वैशाख २ मा कविता कन्सर्टमा उभ्याउने भएको हो ।कवि विप्लव ढकाल, उपेन्द्र सुब्बा र मोमिलाले दर्जन कविता वाचन गर्दैछन्भने गायक कर्ण दास, गायिका लोचन भट्टराई, इतु जोजिजुले ८ कविता गाउँदै छन् । ‘यो फरक स्वादको कविता पस्कने एउटा विशेष मञ्च हो,’ कविता कन्सर्टका इभेन्ट म्यानेजर सञ्जय मल्लले भने, ‘पहिलो कविता कन्सर्टको अपार सफलतापछि दोस्रो कार्यक्रमको तयारी थालेका हौं ।’ नेपालकै चर्चित तीन कवि र तीन गायकगायिकाले पोखरेली कविता पारखीलाई विशेष स्वाद चखाउने कार्यक्रम संयोजक उपेन्द्र पौडेलले बताए ।

‘साहित्यका अरुविधाभन्दा कविता पछाडि परेको हुँदा कविताको व्यावसायीकरण गर्न यो विशेष कार्यक्रम गर्न लागेका हौं,’ पौडेलले भने । बाजेको सेकुवाले शीर्ष प्रायोजन र लायन्स क्लब अफ टुरिजम सिटीको सहकार्यमा हुन लागेको यो कार्यक्रमले साहित्य कर्मका क्षेत्रमा विशेष अर्थपूर्ण रहने मिडिया संयोजक अमृत सुवेदीले बताए । बाजेको सेकुवाको हलमा
हुने कार्यक्रममा कविता सुन्नका लागि ५ सय र १ हजारको टिकट काट्नुपर्ने आयोजक पब्लिक इभेन्टले जानकारी दिएको छ । साहित्यको यस्तो व्यावसायिक कार्यक्रमले कवि र कविता गायकको क्षेत्रमा लागेका व्यक्तिहरुलाई उत्साह
थप्ने आयोजकको विश्वास छ ।

LEAVE A REPLY