१९ बैशाख, पोखरा । नेकपा माओवादी केन्द्रले देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा विश्वप्रकाश लामिछानेलाई उम्मेद्वार बनाएको छ । उपमेयरको उम्मेद्वार गोमा ढकाललाई बनाइएको छ

सोमबार दिनभरी छलफल गर्दा पनि उम्मेद्वार टुंगो लगाउन नसकेको माओवादी केन्द्रले मंगलबार विहानै उम्मेद्वार टुंगो लगाएको हो ।

लामिछाने माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन् । उनी पोखरा उपत्यका नगरविकास समितिका पूर्वअध्यक्ष समेत हुन् । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनी नगर विकास समितिका अध्यक्ष बनेका थिए ।

नगरविकास समितिमा हुँदा उनले फेवातालमा ‘फुट ट्रयाक’ निर्माण गरेर वाहीवाही कमाएका थिए । लामिछाने फेवाताल संरक्षण उच्चस्तरीय आयोग (अतिक्रमण जग्गा छानविन आयोग)को संयोजक पनि हुन् । उनकै संयोजकत्वमा फेवातालको अतिक्रमित जग्गाको पहिचान गरी संरक्षणका लागि सरकारलाई सिफारिस गरिएको थियो । यद्यपी यो कार्यान्वयन भने भएको छैन ।

उपमेयरको उम्मेदवार गोमा ढकाल

माओवादी केन्द्रले पोखराको उपमेयरमा गोमा ढकाललाई उम्मेद्वार बनाएको छ । ढकाल माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन् । उनी पर्यटन ब्यवसायी हुन् भने सामुदायिक सेवा केन्द्र बैदामका पूर्वअध्यक्ष पनि हुन् । उनी सामाजिक अभियन्ता पनि हुन् ।

कांग्रेसले भने पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदको उम्मेदवार रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ ।

यसैगरी नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकामा मानबहादुर जीसीलाई मेयर र मन्जु गुरुङलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

LEAVE A REPLY