पोखरा, २२ कार्तिक । युरोपियन युनियनको आर्थिक सहयोगमा व्रिटिस काउन्सिलले संचालन गरेको दक्षता परियोजनाको बुधबार पोखरामा क्षेत्रीय अनुदान कार्यक्रम सुरु भएको छ ।
सरोकारवालाहरुलाई अनुदानका उद्देश्यहरु,प्रकृयाहरु,मापदण्ड र योग्यताका बारेमाजानकारी गराउन र सम्भावित आवेदकहरुलाई प्रारम्भिक आवेदनको ढाँचा र आवेदन पेश गर्ने सम्बन्धी निर्देशिका सम्बन्धमा समेत जानकारी गराउन सो कार्यक्रमको आयोजना भएको हो । पोखरा उद्योग वाणिज्य संघको संयोजनमा सो कार्यक्रम आयोजना भएको हो ।
युरोपियन युनियनको आर्थिक सहयोगमा संचालित ‘दक्षता– टिभिइटी प्राक्टिकल पार्टनरसीप परियोजनाले कृषि, निर्माण तथा पर्यटन क्षेत्रको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि अनुदानको प्रक्रिया अगाडि बढाएको हो । मानव पूँजीमा लगानी गर्दै रोजगारीको अवसर सृजना गरी विकासमा सघाउनु परियोजनाको उदेश्य रहेको छ । परियोजनाअन्तर्गत नेपालका विभिन्न क्षेत्रको दक्षता अभिवृद्धिका लागि आवदेकहरुमध्ये छानिएकाहरुलाई बढीमा १० लाख युरोसम्म अनुदान दिनेछ । अनुदानको लागि आवेदन फाराम खुल्ला भएको र चालु अङ्रग्रेजी वर्षको डिसेम्बर ६ सम्म आफ्नो अवधारणा इमेलमार्फत बुझाउन सकिने ब्रिटिस काउन्सिलले जनाएको छ ।
दक्षता परियोजनाले आर्थिक सम्वृद्धिको लागि काम गर्ने लक्ष्य समेत लिएको छ । अनुदान रकम प्राविधिक, व्यवसायीक शिक्षा तथा प्रशिक्षण ( टिभिइटी) क्षेत्र सुधारको क्षेत्रमा लगानी हुने ब्रिटिस काउन्सिलले जनाएको छ ।
क्षेत्रीय अनुदान कार्यक्रमको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले अनुदान कार्यक्रमले कामको खोेजीमा विदेशिनेहरुलाई स्वदेशमै रोजगारी दिने आशा व्यक्त गर्नुभयो । कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बजारको आवश्यकता अनुसारको तालीमले रोजगारी र आर्थिक सम्वृद्धि प्राप्त हुने बताउनुभयो ।
सिटीइभिटी पोखराका निमित्त प्रमुख जीवन भण्डारीले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा दक्ष जनशक्तिको कमी भएको बताउँदै सो समस्या निराकरणको लागि यो परियोजना फलदायी हुने आशा व्यक्त गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा ब्रिटिस काउन्सिलकी संचार प्रबन्धक रेशु कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो । समारोहको औपचारिक कार्यक्रमपश्चात सम्भावित अनुदान आवेदकहरुको लागि अनुदान अवधारणा आवेदनमा केन्द्रित प्राविधिक कार्यशाला संचालन गरिएको थियो । कार्यशालाको सहजिकरण ब्रिटिस काउन्सिलकी अनुुदान प्रबन्धक स्नेहा भट्टराईले गर्नुभएको थियो भने सहभागीलाई पोखरा उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक टोपबहादुर थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

LEAVE A REPLY