पोखरा १६ असार । बैशाख ३१ गते सम्पन्न स्थानीय निकाय निर्वाचनमा विभिन्न दलका उम्मेदवारको प्रचारका लागि भएका माइकिङले पोखरेली आजित भए । पोखराको कुनै हलमा नयाँ फिल्म चल्यो माइकिङ । कहि कतै मेला महोत्सबको गरे प्रचारका लागि माइकिङ । कुनै दल र तीनका भातृसंस्थाले गर्ने सभा सम्मेलनको प्रचारका लागि माईकिङ । कतिपय व्यवसायीक कम्पनीको प्रचारमा पनि माइकिङ ।

गाडीमा ठूलो आवाज सहितको माइक जडान गरी महानगरको टोल टोल चहार्दै प्रचार गर्ने शैलीले दिक्क भएका पोखरा लेखनाथवासीका लागि खुसीको खबर छ । अब पोखरामा सार्वजनिक हित बाहेकका कुनैपनि माइकिङ गर्न पाइने छैन ।

पोखरा लेखनाथ महानगरपालिकाले आगामी साउन १ गतेदेखि महानगरलाई माइकिङ निषेधित क्षेत्र बनाउने निर्णय गरेको छ । माइकिङको कारण महानगरमा ध्वनी प्रदुषण बढेपछि नो हर्न जोन सँगै माइकिङ निषेधित क्षेत्र बनाउने निर्णय गरिएको मेयर मान बहादुर जिसीले पिसपोखरालाई बताए ।

‘ सुरक्षा स्वास्थ्य र विपत जस्ता सार्वजनिक महत्वका विषय वाहेक अन्य माइकिङलाई निषेध गरेर जाने निर्णय भएको छ । ’ मेयर जिसीले पिसपोखरासँग भने ।  साथै निषेधित कार्य गरेको पाइएमा कानुन अनुसार कारवाही समेत गरिने महानगरपालिका कार्यालयले जनाएको छ । – गोकुल बानियाँ

LEAVE A REPLY