पोखरा, २२ वैशाख  । पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेद्वार मानबहादुर जिसीले आफू पोखराको विकास र समृद्धिका लागि समर्पित भएको बताएका छन् । ‘पहिला पनि पोखराको विकासका लागि पहल गरेकै थिएँ,’ उनले भने, ‘मेयरमा विजयी भएपछि योजना अनुसार विकास गर्नेछु ।’

नयाँ महानगरपालिकालाई नेपालमै उदाहरणीय महानगरपालिका बनाउने जिसीले बताए । ‘हाम्रो महानगरपालिका सबैभन्दा ठूलो हो,’ उनले भने, ‘सामानुपातिक विकास योजना तय गरेर उत्कृष्ट महानगरपालिका बनाउने छु ।’

चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३, ११, १२, १३, १४ का विभिन्न ठाउँमा गरिएका सभा तथा घरदैलो कार्यक्रममा शुक्रबार उनी सहभागी भए । जिसीले महानगरको विकासका लागि नेकपा एमालेलाई विजयी गराउन आग्रह गरे । एमालेले देख्दै आएको सपना सबै मिलेर साकार गर्नुपर्ने उनले बताए । ‘समृद्ध देश र सुखी जनताको नारालाई साकार पार्न म कटिवद्ध भएर लाग्ने छु,’ उनले भने, ‘महानगरपालिका राम्रो बनाउने जिम्मा हाम्रो काँधमा छ ।’

एमालेबाट उपमेयरका उम्मेद्वार मञ्जुदेवी गुरुङले विकाससँगै महिला र बालमैत्री समाज निर्माण गर्न अगुवाइ गर्ने प्रतिवद्धता जनाइन् । ‘महिला, बालबालिका, युवा सबैलाई समेटेर विकासमा लाग्ने छु,’ उनले भनिन्, ‘म महानगरको विकासका लागि कुनै कसर बाँकी राख्ने छैन ।’

मेयर र उपमेयरका उम्मेद्वार जिसी र गुरुङसँगै प्रत्येक वडाका अध्यक्ष र कार्यकता चुनावी प्रचारप्रसारका लागि घरदैलोमा सहभागी थिए । वडा नम्बर ३ मा अध्यक्षका उम्मेद्वार शशिधर पराजुली, ११ नम्बरका देवेन्द्र बास्तोला, १२ नम्बरका ऋषिराम लामिछाने, १३ नम्बरका दर्शन लामा र १४ नम्बरका प्रेमबहादुर कार्की र वडा सदस्यहरू चुनाव प्रचारप्रसारका लागि घरदैलोमा छन् । जिसी र गुरुङले शनिबार पोखराका वडा नम्बर २६, २७, २९, ३० र ३१ मा घरदैलो कार्यक्रम गर्ने छन् । उनीहरुसँगै सम्बन्धित वडा अध्यक्षका उम्मेद्वार, सदस्यका उम्मेद्वारहरु र नेता, कार्यकर्ता पनि प्रचारप्रसारमा हिड्ने छन् ।

LEAVE A REPLY