पोखरा, ४ भदौ । पोखरा उद्योग वाणिज्य संघले सुरु गरेको बाढी पहिरो पीडितलाई राहत प्रदान अभियानमा कुर्सिला थामीले २५हजार रुपैयाँ प्रदान गर्नु भएको छ । पोखराको नदीपुर निवासी थामीले संघका अध्यक्ष विश्वशंकर पालिखेलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । यसअघी शनिबार मात्र गण्डकी जग्गा तथा आवास विकास संघले सो कोषमा एक लाख रुपैयाँ प्रदान गरेको थियो । हालसम्म सो कोषमा ३ लाख १८ हजार १ सय रुपैयाँ जम्मा भई सकेको संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिनुभयो ।
बाढी र पहिरोबाट सिङ्गो देश प्रभावित बनेका बेला आफ्नो दायित्ववोध मनन गर्दैै पोखरा उद्योग वाणिज्य संघले साउन ३० गते बाढी पहिरो पीडितहरुको सहयोगार्थ ‘पोखरा बाढी पीडित राहत कोष ’स्थापनाको निर्णय गरेको थियो । राहत संकलनको यो अभियानमा पोखरामै रहेको रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनले समेत सहकार्य गरेका छन् ।सो कोषमार्फत सहयोग गर्न चाहनेहरुलाई ओम डेभलपमेण्ट बैंकको खाता नम्बर १८०००० मा जम्मा गरी भौचरको प्रतिलिपी संघको सचिवालयमा पठाउन वा पोखरा उद्योग वाणिज्य संघको सचिवालयसहित रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनको कार्यालयमा सोझै प्रदान गर्न सकिने पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । पोखरा उद्योग वाणिजय संघका अनुसार संकलित रकम आवश्यकता हेरी स्थानीय दैवी प्रकोप उद्धार तथा राहत समितिहरुमार्फत यहाँहरुकै सहभागितामा पीडितहरुसम्म पु¥याइने छ ।

LEAVE A REPLY