पोखरा, १ असार । नेपाल विद्यार्थी संघ पृथ्वी नारायण क्याम्पस इकाई समिति प्रशासनिक कार्यमा ढिलासुस्ती भएको भन्दै बिहीबार एक विज्ञप्ति जारी गर्दै संघको ध्यानाकर्षण भएको जनाएको छ । प्रविधिको युगमा पनि क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थी सामान्य भर्ना प्रक्रिया तथा परीक्षा फर्म भर्नका लागि घण्टौ लाइन बस्नुपरेकोमा संघले त्यस समस्याको अन्त्यको माग गर्दै विज्ञप्ति जारी गरेको हो ।

संघका अध्यक्ष दीपक वाग्लेद्वारा जारी विज्ञप्तिमा करिब १० हजार विद्यार्थी अध्ययन गर्ने देशकै ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा एउटा सामान्य भर्ना तथा परीक्षा फर्म भर्नका लागि घन्टौ लाइनमा बस्नुपर्ने र दुई दिनमा पनि काम गर्न नसकिने जटिल अवस्थाको सिर्जना भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, समस्यामा सधै मुकदर्शक बन्ने क्याम्पस प्रशासनलाई पनि हामी त्यसतर्फ ध्यानाकर्षित गर्न चाहन्छौं । प्रशासनका समस्यालाई समाधान गर्नुको सट्टा क्याम्पस प्रशासन आफ्नो कमजोर व्यवस्थापनलाई प्रसय दिँदै विद्यार्थीलाई मात्र नभई कर्मचारीसमेतलाई सास्ती दिन उद्धत देखिन्छ ।

कसैको निहित स्वार्थका लागि तमाम विद्यार्थी र कर्मचारीलाई सास्ती दिन पाइदैन । विश्वविद्यालयको अवधारणा बोकेर हिँडेको क्याम्पसमा यो खालको व्यवस्थापकीय शैली अपाच्य छ । क्याम्पसमा यस्तो लापर्वाही र अव्यवस्थित प्रशासन बन्दै गर्दा पनि केही अमुक विद्यार्थी संगठनहरु प्रशासनको अकर्मन्यतामा मुकदर्शक बन्नुले क्याम्पसमा राजनीतिक गतिविधि र क्याम्पस प्रशासन यसकै सिकार बन्न पुगेको आभास भएको छ । हामी क्याम्पसमा सहजता चाहन्छौ, विद्यार्थीका लागि मात्र होइन कर्मचारीका लागि पनि ।

हामी हाम्रा मान्छेका लागि मात्र पनि सहजता चाहदैनौ, यस क्याम्पसमा अध्ययन गर्ने एक–एक विद्यार्थीका लागि हामी सहजताको खोजी गछौं तसर्थ हाम्रो पहल सेटिङमा लाइन मिचेर दुई जनाको भर्ना गर्नुभन्दा पनि तमाम विद्यार्थीलाई सहजताको अनुभव गराउने दीर्घकालिन समाधानतर्फ रहन्छ । यसतर्फ क्याम्पस प्रशासनको ध्यान आकर्षित गर्न चाहन्छांै र छिटो भन्दा छिटो अहिले देखिएको समस्यालाई निराकरण गर्न क्याम्पसले तत्काल समाधानको बाटोमा अग्रसरता देखाओस्, अन्यथा नेविसंघ यस्ता किसिमका गतिविधिका विरुद्ध संघर्ष गर्न बाध्य हुने चेतावनीसहित यसबाट उत्पन्न हुने जुनसुकै घटनाको जिम्मेवार स्वयं क्याम्पस प्रशासन रहने कुरा यस ध्यानाकर्षणपत्रमार्फत जानकारी गराउँदछौं ।

LEAVE A REPLY