वैशाख २०, २०७४- संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनअघि निर्वाचनमा नजाने पूर्वप्रतिबद्धता तोडेको भनी राष्ट्रिय जनता पार्टी (राजपा)ले लगाएको आरोपको खण्डन गरेका छन् ।

पार्टी कार्यालय तीनकुनेमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले संघीयता, गणतन्त्र लगायत परिवर्तनका उपलब्धि जोगाउन पहिलो चरणको चुनावमा भाग लिन परेको बताएका हुन् । मंगलबार राजपाले बैठक गर्दै फोरमले आन्दोलन बिसाएको आरोप लगाएको थियो ।

‘पूर्वराजा ज्ञानेन्द्रको नातिको ब्रतबन्धमा केही दिनअघि चिप्लो लुगा लगाएर सोल्टी होटल जानेले हामीलाई लोकतन्त्र र संघीयताको पाठ सिकाउने ?’ राजपा नेताहरुप्रति इंगित गर्दै यादवले भने, ‘ हामीलाई चुनावमा गएको भनी आरोप लगाउने साथीहरु (राजपा) नै निर्वाचन आयोगमा चुनाव चिन्ह चाहियो भनेर गएको पनि देखियो ।’

संविधान संशोधन गर्ने प्रतिबद्धता राज्यले दिइसकेको र त्यसअनुसार संशोधन विधेयक अगाडि बढेको हुनाले मधेसी मोर्चासँग पूर्वसहमतिअनुसार चुनावमा गएको उनको स्पष्टोक्ति थियो ।
मोर्चा र गठबन्धनको औचित्य सकियो भन्ने राजपा निष्कर्षबारे पत्रकारको जिज्ञासामा यादवले भने, ‘त्यसो भन्ने साथीहरु भर्खरै हाम्रै अफिसमा आएर दोस्रो चरणको चुनावमा सँगै लड्नु पर्छ भनेका छन् ।’ फोरम कार्यालयमा बुधबार राजपाका पशुपति दयाल मिश्र लगायतका नेताहरु पुगेका थिए । संविधान संशोधन हुन लाग्दा पछिल्लो साता नाटकीय ढंगले चलखेल भएको र राप्रपाका सांसद गायब पार्ने खेलले परिवर्तन उल्ट्याउने शक्तिहरु हाबी भएको पनि यादवको टिप्पणी थियो ।

अर्को प्रसंगमा यादवले आईजीपीको बहानामा प्रधानन्यायधीशमाथि लगाएको महाअभियोग गलत भन्दै तुरुन्त महाभियोग फिर्ता लिन पुन: आग्रह गरे । उनले महाभियोग फिर्ता गर्न आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भेटिसकेको पत्रकार सम्मेलनमा उल्लेख गरे । पत्रकार सम्मेलनमा वरिष्ठ अशोक राई लगायत सहभागी थिए ।

LEAVE A REPLY