०७३ कस्तो रह्यो ?

धेरै सुखद, सफल र व्यस्त रह्यो । यस वर्ष म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गर्न सफल भएँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले प्रदान गर्दै आएको ‘इनास अवार्ड’मा उत्कृष्ट गायिकाका रूपमा म सम्मानित भएँ । उसो त अन्य विभिन्न राष्ट्रिय अवार्ड पनि यस वर्ष मैले पाएँ । सांगीतिक यात्राकै क्रममा विगतका वर्षझैँ मुलुकभित्र र बाहिर दौडधुप नै रह्यो ।

मैले कतिपय गीत सित्तैमा पनि गाइदिएकी छु ।
व्यावसायिक कलाकार भनेर हरेक कोणबाट पारिश्रमिककै
कुरामा मात्र म अल्झिएकी छैन ।

 

यस वर्षको खास योजना के छ ?

वर्षौंदेखि अन्य स्रष्टा, सर्जक र संगीतकर्मीकै गीतमा स्वर दिन व्यस्त रहेकाले त्यसभन्दा फरक योजना छैन । आफ्नै नयाँ एल्बम निकाल्ने र एकल साँझ गर्ने सोच भए पनि फुर्सद निस्किरहेको छैन ।

सांगीतिक क्षेत्रमा तपाईंले वर्षौं बिताइरहँदा गीतमार्फत श्रोतालाई कत्तिको न्याय गरेको जस्तो लाग्छ ?

मैले सांगीतिक यात्राका क्रममा आधुनिक गीत मात्र गाएकी छैन । लोक तथा दोहोरी गीत, रोइलालगायतका गीत पनि गाएकी छु । केही समयमा पूर्वेली गीत तथा देउडा गीत गाउँदै छु । यति हो कि मैले जति गीत गाएँ, ती सबैमा सबैलाई बढीभन्दा बढी न्याय दिने कोसिस गरेकी छु । आधुनिकबाहेकका गीत गाउँदा मैले न्याय गर्न सक्छु कि सक्दिनँ, कस्तो भयो भनेर अरूसँग सरसल्लाह गर्छु ।

लोकगीत गाउँदा कत्तिको फरक महसुस गर्नुभयो ?

मैले गाएका ‘तिमीले पराई ठानेपछि’लगायतका केही गीत लोकबेसकै गीत हुन् । लोकगीत गाउँदा मैले त्यस्तो धेरै कठिनाइ महसुस गरिनँ । लोकदोहोरी सुनिरहनेले आधुनिक गीत कमै सुन्थे । तर, मैले गाएका गीत, लोकगीत सुन्ने श्रोताले झन् मन पराउनुभएको छ । मैले गाएका लोकबेसका गीतले लोक र आधुनिक गीतको दूरी घटाइदिएको छ ।

तपाईंले गायन सुरु गर्दा र अहिले नयाँ पुस्तासँग काम गर्दा के फरक पाउनुभएको छ ?

फरक अवश्य छ । मैले गायन सुरु गर्दा अहिलेकोजस्तो सुविधासम्पन्न प्रविधिको विकास भइसकेको थिएन । ६ महिनामा एक–दुईवटा गीत रेकर्ड गरिन्थ्यो । गीत रेकर्ड गर्न प्रशस्त समय लगाइन्थ्यो । म दैनिक १४ घन्टासम्म रियाज गर्थें । प्रविधिको विकासले गायक–गायिकालाई गाउन सजिलो बनाइदिएको छ । पछिल्लो समय सांगीतिक क्षेत्रमा तीव्र प्रतिस्पर्धा भइरहेको मैले पाएकी छु ।

कहिलेकाहीँ कुनै गीतकारको शब्दप्रति आपत्ति जनाएका क्षण छन् ?

म आफूलाई यो मानेमा पनि भाग्यमानी सम्झिन्छु कि मैले अब्बल, ख्यातिप्राप्त तथा क्षमतावान् स्रष्टा सर्जकका सिर्जनामा आवाज भर्न पाएकी छु । जीवनमा सकारात्मक सोच राख्नुपर्छ सबैकुरा असल देखिन्छन् । मैले आपत्ति जनाउनुपर्ने शब्द अहिलेसम्म महसुस नगरे पनि केही शब्द थप्ने, घटाउने अर्थात् गीत मिलाउनुपर्ने अवस्था आए म गीतकार तथा संगीतकारहरूसँग परामर्श गर्छु ।

महँगो गायिकाको आरोप लाग्छ नि तपाईंलाई ?

जुनकुनै क्षेत्रमा अघि बढ्दै गर्दा कुरा काट्नेदेखि कमीकमजोरी औँल्याउनेहरू हुन्छन् नै । मैले नै ५–६ हजार रुपैयाँमा गीत गाएँ भने नयाँ पुस्ताका भाइबहिनीले सांगीतिक क्षेत्रमा आफ्नो व्यावसायिक उपस्थिति आत्मविश्वासका साथ जनाउने वातावरण बन्ला कि नबन्ला भन्ने पनि त सवाल छ नि । उसो त मैले कतिपय गीत सित्तैमा पनि गाइदिएकी छु । व्यावसायिक कलाकार भनेर हरेक कोणबाट पारिश्रमिककै कुरामा मात्र म अल्झिएकी छैन ।

गीत रेकर्डका केही अविस्मरणीय क्षण छन् ?

त्यस्ता क्षण धेरै छन् । तर, आजभन्दा ६ वर्षअगाडि होजस्तो लाग्छ । त्यसवेला म एउटा गीत गाएको १२ हजार रुपैयाँ लिन्थेँ । दिनभरि गीत रेकर्डमा व्यस्त रहँदा एक दिन यस्तो क्षण आयो कि २ महिनादेखि मेरो स्वरमा रेकर्ड गर्न भनेर रोलक्रममा रहेको गीत रेकर्ड गर्नु थियो । म स्टुडियोभित्र पस्दा बत्ती जान १५ मिनेट बाँकी थियो । मैले हतार–हतारमा त्यो गीत १२ मिनेटभित्रमा सकेँ । त्यसवेला संगीतकार सन्तोष श्रेष्ठले तपाईंले एक मिनेटको एक हजार कमाउनुभयो यो गीतबाट भनेर ठट्टा गर्नुभएको थियो । लोडसेडिङको डरले हतार–हतार रेकर्ड गर्दाको त्यो क्षण म सम्झिरहन्छु ।

तपाईंलाई कस्तो गीत गाउँदाबढी आफैँलाई छुन्छ ?

मलाई आफ्नो जीवनसँग ‘मेल’ खाने गीत गाउँदा बढी छुन्छ । गीत रेकर्डको क्रममा पटक–पटक भावुक भएको, आँसु झरेका घटना पनि छन् । ‘जिन्दगी यो फूलैफूलको थुंगो हुँदैन’ भन्ने गीत गाउँदा म भावुक भएकी थिएँ । त्यसवेला मलाई पीडा थियो, मनभित्र पीडा लुकाएर धेरै रोमान्टिक गीत गाएँ ।

गुनगुनाउँछु

मलाई रञ्जित गजमेरको संगीतमा रहेका सबै गीत मनपर्छ । उहाँद्वारा संगीतबद्ध ‘पिरतीको मीठो तिर्सना’, डेजी बराइलीको ‘एउटा खुल्ला किताब’ नारायणगोपालको ‘दुइटा फूल देउरालीमा’ गोपाल योञ्जनको ‘देशले रगत मागे’लगायतका गीत सुन्ने र गुनगुनाउने गर्छु ।

LEAVE A REPLY