पोखरा, ३० कात्तिक l नेपाली काँग्रेसका नेता तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पालिखे परिवार पार्टीसँग प्रतिबद्ध भएको बताएका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर २ का काँग्रेस समर्थित प्रजातन्त्रवादी प्राध्यापकहरुको भेलालाई सम्बोधन गर्दै उनले पालिखे परिवार ब्यक्तिबादी नभई पार्टीप्रति कटिबद्ध भएर लाग्ने बताए ।

‘पालिखे परिवारका लागि ब्यक्ति भन्दा पार्टी सर्वोपरि हो, उनले भने–नेपाली काँग्रेसको इतिहास बोकेको परिवार भएकाले पार्टीलाई नै केन्द्रमा राखेर सहयोग गर्नेछौं । ब्यवहारिक र पारिवारीक वा सामाजिक विषयका आधारमा विचलित हुन जानेका छैनौं ।’

बुधबार प्राध्यापकहरुसँग प्रत्यक्षतर्फका उम्मेदवारले सुझाव लिएका छन् । निर्वाचन क्षेत्र नम्बर २ (ख) को सचीवालयमा भएको भेलामा प्राध्यापकहरुले चुनावी रणनीति र प्रचार शैलिबारे आवश्यक सुझाव दिएका थिए । भेलाले प्रदेशसभामा परिचालन हुने गरी २ जना सहसंयोजक चयन भएका छन् । जसअन्तर्गत क्षेत्र नम्बर २ प्रदेश (क) ज्ञानेन्द्रराज पौडेल र (ख) को लागि राजेन्द्रबहादुर देवकोटा चयन भए ।

कार्यक्रममा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा उम्मेदवार देवराज चालिसे, प्रदेशसभा (क) का गुरुप्रसाद बराल र (ख) का विन्दुकुमार थापा, क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिति संयोजक सोभियतबहादुर अधिकारी, प्राध्यापकहरु कमलराज पौडेल, कुशुमाकर न्यौपाने, बलराम भट्टराई, कृष्णप्रसाद तिमिल्सिना, अजय थापा, नारायणी पौडेल लगाएतले चुनावी एजेण्डा र रणनीति बारे छलफल गरेका थिए ।

भेलामा क्षेत्र नम्बर २ का १ सय ५० भन्दा बढी प्राध्यापकहरु उपस्थित थिए । कास्की क्षेत्र नम्बर २ प्राध्यापक परिचालन समितिको संयोजक दीपेन्द्र पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रजातन्त्रवादी प्राध्यापक संघ पिएन क्याम्पस इकाईका सचिव बोधराज ढकालले गरेका थिए ।

भेलाले साम्यवादी कम्युनिष्ट गठबन्धनका विरुद्धमा लोकतन्त्र, राष्ट्रियता र मुलुकका लागि सबै लोकतन्त्रबादीहरु एकजुट भएर लाग्नुपर्ने निर्णय गरेको छ । लोकतन्त्रको पर्याय नेपाली काँग्रेसको रुख चिह्नमा अत्यधिक मतदानको वातावरण बनाउन सबै आफ्नो ठाउँबाट कटिबद्ध भएर लाग्ने र कम्युनिष्टको भण्डाफोर गर्ने निर्णय भएको संयोजक पराजुलीले जानकारी दिए ।

LEAVE A REPLY