पोखरा, १७ भदौ l द हिमालयन टाइम्स अंग्रेजी राष्ट्रिय दैनिकका पोखरा समाचारदाता रुपनारायण ढकाल पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार २०७३ बाट शनिबार सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघको ६३ औं अधिवेशनका अवसरमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले ढकाललाई दोसल्ला ओढाई सम्मानित गरेका थिए ।
हरेक दुई वर्षमा प्रदान गरिने यो पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । आर्थिक तथा अन्य समाचारका माध्यमबाट ढकालले पोखरा र यसवरपको आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको पुरस्कार छनोट समितिका संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बसन्त उदासले कार्यक्रमका जानकारी दिए । पत्रकारद्वय नारायण कार्की र कृष्णप्रसाद वास्तोला, पोउवासंघका कोषाध्यक्ष पवन प्रजापति र उपमहासचिव अर्जुन पोखरेल सो समितिका सदस्य रहेका थिए ।
पोखराबाट प्रकाशित तत्कालिन गगन साप्ताहिक र जनमत दैनिकबाट २० वर्ष अघि २०५४ सालदेखि पत्रकारिता सुरु गरेका ढकालले यसअघि पोखरापत्र दैनिक, समाधान दैनिक, राजधानी दैनिक, अन्नपूर्ण पोष्ट दैनिक र दक्षिण कोरियाको ओमाई न्यूज इन्टरनेश्नल नामक अन्तर्राष्ट्रिय अंग्रेजी समाचार साइटमा समेत समाचारदाताको रुपमा काम गरिसकेका छन् । ढकाल पोखराबाट अपडेट गरिने रिसेन्टफ्युजन डटकम नामक अंग्रेजी समाचार साइटका सम्पादक पनि हुन् ।
नेपाल पत्रकार महासंघका पूर्व पार्षद् र हाल साधारण सदस्य रहेका ढकाल स्वतन्त्र पत्रकार संघमा पनि आबद्ध छन् । पोखरा लेखनाथ महानगरपालिका– ३२ सातमुहानेका स्थायी बासिन्दा ढकालले अर्थशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् ।
ढकालले नेपाल पत्रकार महासंघ, नेपाल प्रेस इन्ष्टिच्यूट, पोखरा उद्योग वाणिज्य संघ र एच डब्लू के माइन्ज जर्मनी लगायतका संस्थाबाट खोजमूलक, आर्थिक र सम्पादन सम्बन्धी तालिमहरु पनि लिएका छन् ।

 

LEAVE A REPLY