पोखरा, १७ चैत l नेपाल प्लस प्रालिले पोखरामा नेपाल प्लस रेडियो र नेपाल प्लस टेलिभिजन सञ्चालन गर्ने भएको छ । प्रालिले बिहीबार पत्रकार सम्मेलन गरी आगामी आइतबारबाट नेपाल प्लस रेडियोले नियमित प्रसारण सुरु गर्ने जनाएको हो ।
अनलाइन रेडियो/टेलिभिजन सञ्चालनका लागि आवश्यक सबै वैधानिक प्रक्रिया पूरा गरी सञ्चालित हुने अनलाइन रेडियो/टेलिभिजन पोखराकै पहिलो भएको प्रालिका प्रबन्ध निर्देशक नरमाया रसाइलीको दाबी छ । पोखराको सभागृहचोक रहेको स्टुडियोबाट अहिले परीक्षण प्रसारण भइरहेको छ । डब्लुडब्लुडब्लु डट नेपालप्लस रेडियो डट कममा रेडियो र डब्लुडब्लुडब्लु डट नेपालप्लस डट टिभीमा टेलिभिजन हेर्न सकिने जनाइएको छ । ‘देशदेखि परदेशसम्म’ भन्ने उद्घोषसहित सञ्चालित गरिएको रेडियोले नेपालीका सीप, क्षमता, पर्यटन विकास र नेपाली भाषा, कला, साहित्य र संगीतलाई उजागर गर्ने उनले बताइन् ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले ढिलोचाडो सबै मिडिया डिजिटल प्रणालीमा जानैपर्ने अवस्था सिर्जना आउने बताए । उनले सञ्चारमाध्यममा आवद्ध पत्रकारको जीविका चल्ने गरी सेवा, सुविधा दिएर सञ्चारमाध्यम चलाउन आग्रह गरे । अनलाइन सञ्चारमाध्यमलाई हेर्ने सरकारी नजर पूर्वाग्रहपूर्ण रहेको उनको भनाइ छ । श्रेष्ठले भने, ‘केहीले गरेको कमजोरीलाई देखाउँदै हालै जारी भएको अनलाइन निर्देशिका निकै कडा छ ।’
सञ्चारिका समूह पश्चिमाञ्चल अध्यक्ष जमुना शर्मा वर्षाले आइलाइन अबको युगको भरपर्दाे र प्रभावकारी माध्यम भएको उल्लेख गरिन् ।प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक नरमाया रसाइलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन फडिन्द्र अकिञ्चनले गरेका थिए ।

LEAVE A REPLY