काठमाडौं, वैशाख १३ l सरकारले मधेमा स्थानीय तहको संख्या बढाउन लागेको विरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । एमालेको अवरोधका कारण बैठक ३ बजेसम्मका लागि स्थगित भएको छ । एमालेले हिजो पनि संसद बैठक अवरुद्ध गरेको थियो । स्थानीय तहको संख्या बढाउनुको चित्त बुझ्दो कारण दिएमा संसदमा अवरोध नगर्ने भनेको थियो ।

जस अनुसार आज उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले मधेसी दललाई पनि चुनावमा सहभागी गराउन र देशलाई चुनावमा लैजानका लागि स्थानीय तहको संख्या थप्नु परेको दावी गर्नुभयो ।
थापाले संविधान जारी हुने बेलामा नै मधेसवादी दलको चित्त बुझाउन संविधान संशोधन गर्छौ भनेकाले संशोधन गर्न लागेको बताउनुभयो ।

तर एमाले मुख्य सचेतक भानुभक्त ढकालले सरकारले आफू खुसी स्थानीय तहको संख्या बढाउन नपाउने दावी गर्नुभयो । स्थानीय तह पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई हेरफेर गर्दै यसअघि पनि सरकारले मधेसमा स्थानीय तहको संख्या थपेको भन्दै उहाँले चुनाव घोषणा भइसकेपछि स्थानीय तहको संख्या थप्न आचारसंहिताले नदिने बताउनुभयो । आयोगले ७ सय १९ वटा तह सिफारिस गरे पनि सरकारले मधेसी दलको माग अनुसार यअसघि २ नम्बर प्रदेशका ८ जिल्लामा २५ वटा स्थानीय तह थपेको थियो ।

अब फेरि २ नम्बर प्रदेशसहित नवलपारसी, रुपन्देही र कपिलवस्तुमा स्थानीय तहको संख्या थप्न सरकारले मन्त्री थापाको संयोजकत्वमा समिति गठन गरेको छ । एमालेले स्थानीय तह थप्ने निर्णय फिर्ता नभएसम्म संसद चल्न नदिने अडान कायम राखेको छ ।

LEAVE A REPLY