विराटनगर, चैत २५ – निर्वाचन लक्षित क्षेत्रीय सुरक्षा बैठक विराटनगरमा सुरु भएको छ । शुक्रबार बिहान गृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले बैठक शुभारम्भ गर्दै निर्वाचको सबै तयारी पूरा भइरहेकोले सुरक्षाको बिषयमा पूर्वको अवस्थालाई मध्यनजर गरेर सुरक्षा रणनीति बनाइने बताउनु भयो ।

चुनावको तयारी तीब्र पारिएकोले त्यसको लागि एकै चरणमा निर्वाचन गर्नेगरी तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । ‘चुनाव एकै चरणमा हुन्छ, गृह प्रशासनको तयारी देशभरि वैशाख ३१ गते निर्वाचन सम्पन्न गर्ने रहेको छ’ उहाँले भन्नुभयो, ‘त्यसको लागि राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुनेछन् ।’

पूर्वी नेपालका १६ जिल्लाका जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना, प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा सहभागिता रहेको छ । बैठकमा बोल्दै गृह सचिव सुदर्शन रेग्मीले अहिलेको अवस्थामा अर्जुन दृष्टी निर्माण गरी नेपाली जनताले २० वर्षदेखि स्थानीय नेतृत्व छान्न नपाएको अबस्थामा त्यसको कार्यभार पूरा गर्दै संविधान कार्यान्वयन गर्नको लागि गृह प्रशासन गम्भीर रुपमा लाग्नुपर्ने बताउनुभयो ।

पूर्वाञ्चलका जिल्लाहरुको शान्ती सुरक्षाको अवस्थाबारेमा प्रमुख जिल्ला अधिकारीले जानकारी दिने र त्यही अनुसारको रणनीति बनाएर अघि बढ्ने योजना गृह मन्त्रालयसँग रहेको छ । गृह मन्त्रालयको आयोजनामा क्षेत्रीय सुरक्षा बैठक सुरु भएको हो ।

@Ujyaaloonline

LEAVE A REPLY