झापा, वैशाख ५ – कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने बताउनुभएको छ ।

मधेसवादी दल निर्वाचनमा भाग लिने वातावरण बन्दै गएको चर्चा गर्दैै देउवाले मधेसवादी निर्वाचनमा आए दुई चरणमा भएपनि निर्वाचन गर्नुपर्ने पक्षमा कांग्रेस रहेको बताउनुभयो ।

देउवाले दुई दशक जनप्रतिनिधीविहीन स्थानीय तहमा जनताको प्रतिनिधी चुन्ने अवसरलाई सदुपयोग गरेर जानु नै सबैको राष्ट्रिय दायित्व भएकोमा जोड दिनुभयो ।

मंगलबार नेपाली कांग्रेसले झापाको कमल गाउँपालिका लखनपुरस्थित रंगशालामा आयोजना गरेको निर्वाचन लक्षित १ नम्बर प्रादेशिक सभालाई सम्बोधन गर्दै उहाँले आन्दोलित मधेशवादी दललाईसमेत समेटेर संविधान कार्यान्वयन गर्न निर्वाचन हुने विश्वास ब्यक्त गर्नुभयो ।

आमसभामा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका सबै खाले हकअधिकारलाई संस्थागत गर्न निर्वाचनबाट संविधान कार्यान्वयन हुने बताउनुभयो ।

महामन्त्री शंशाक कोइरालाले मधेसवादी दललाई समेटेर गए मात्र निर्वाचनले सार्थकता पाउने भन्दै त्यसका लागि दलीय सहमती निर्माण गर्न ढिलाई गर्नु नहुने बताउनुभयो ।

सभामा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वैशाख ३१ मा नै स्थानीय तहको निर्वाचन हुने बताउँनुहँुदै त्यस दिनदेखि मुलुकले थप फड्को हासिल गर्ने औल्याउनुभयो ।

चुनावी सभामा कांग्रेस नेता तथा गृहमन्त्री विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरु शेखर कोइराला, मिन विश्वकर्मा, भिष्मराज आङदेम्बे, नेविसंघका सभापति नैनसिंह महर, तरुण दलका सभापति जितजङ बस्नेत, महिला संघकी सभापति उमा रेग्मी, प्रदेश १ का १४ वटै जिल्ला सभापतिहरुलगायतले बोल्नुभएको थियो ।

@Ujyaaloonline

LEAVE A REPLY