काठमाडौं, वैशाख ३० l गृहसचिव लोकदर्शन रेग्मीले आइतबार हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताहरुको सम्पूर्ण सुरक्षाको प्रत्याभूति गरेको स्पष्ट पार्नुभएको छ ।

शनिबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा सचिव रेग्मीले भन्नुभयो, ‘सरकारले सुरक्षाको सम्पूर्ण प्रत्याभुति गरिसकेको छ, हामीले यो चुनावको लागि तीन तहको बलियो घेरामा सुरक्षाको प्रबन्ध मिलाएका छौं, कुनै पनि अप्रिय घटना नहोस् भनेर गृह प्रशासन निकै गम्भिरताका साथ रातदिन नभनी काम गरिरहेको छ ।’

निर्वाचन लक्षित गरेर केन्द्रिय, क्षेत्रिय र स्थानीय सुरक्षा योजना अन्र्तर्गत नै गृह प्रशासनले काम गरिरहेको उल्लेख गर्दै भन्नुभयो, ‘तीन घेरामा सुरक्षा निकायहरुलाई खटाइनेछ, पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानलाई राखिएको छ भने टाढा बसेर सुरक्षाको निगरानीमा नेपाली सेनालाई राखिनेछ ।’ उहाँले देशैभरि नै सरकारले बलियो सुरक्षा कबजभित्र राखेको स्पष्ट समेत पार्नुभयो ।

उहाँले निर्वाचनको लागि नै सरकारले मतदान स्थल, मतदान केन्द्रमा पनि विभिन्न क्लष्टर बनाएको जानकारी दिनुभयो । क्लष्टरका अनुसार नेपाल प्रहरीको मोवाई टिम, सशस्त्रको मोबाईल टिम, त्यसैगरि नेपाल प्रहरीको स्टा«ईक टिम र सशस्त्र प्रहरीको स्ट्राईक टिम खटाईने सरकारको निर्णय छ । त्यस्तै नेपाली सेनाले स्थलगत निरिक्षण गर्ने र अतिसंवेदनशिल स्थानहरुमा हवाईजहाजमार्फत नेपाली सेनालाई खटाउने सचिव रेग्मीले जनाउनुभयो । निर्वाचनमा पूरै देशभरि नै सुरक्षाको बलियो सञ्जाल सरकारले बनाएको समेत विश्वास दिलाउनुभयो ।

उहाँले निर्वाचन विथोल्ने भनेर चेतावनी दिएपछि गृह प्रशासनले यसबारेमा व्यापक निगरानी बढाएर विभिन्न कारवाही बढाएपछि अहिले त्यस्ता घट्नाक्रमहरु पनि न्युन देखिएको स्पष्ट पार्नुभयो । ‘निर्वाचन विथोल्ने अनुमान देखिएपछि हामीले यसमा व्यापक निगरानी बढाएका थियौं, अहिले त्यस्तै घट्नाहरु अत्यन्तै न्यून देखिएका छन् ।’ यद्धपी उहाँले यो बीचमा राजनीतिक मुठभेडका कारण दोलखामा दुःखद् घट्ना घटेकोमा भने दुःख व्यक्त गर्नुभयो ।

उहाँले नागरिक समाज, प्रवुद्ध व्यक्तिहरु, मिडिया र सचेत नागरिकको निरन्तरको सहयोग, सद्भाव र समर्थनले गर्दा गृह प्रशासनले सफलता पाइरहेको समेत विश्वास व्यक्त गर्नुभयो । उहाँले सुरक्षा योजनामा मतदाताहरुले मत हाल्ने आउनेदेखि लिएर मत हालेर घर फर्किउनजेलसम्म पनि सुरक्षाको बलियो व्यवस्था मिलाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पैदलमार्गमा नेपाली सेनाले गस्ती गरिरहेको हुनेछ, मत हाल्न आउनेदेखि लिएर घर फर्किउनजेलसम्म सरकारले बलियो सुरक्षाको प्रवन्ध गरेको छ ।’

सचिव रेग्मीले नेपालको भौगोलिक अवस्थाका कारण कतिपय ठाउँमा भीर, पाखा र डाँडा काँडा भएकोले गृहप्रशासनले सुरक्षा चेकजाँच केन्द्र समेत राख्ने व्यवस्था मिलाएकोले निर्भिक भएर मत हाल्नको लागि सम्पूर्ण मतदाताहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारका चारवटै सुरक्षा निकाय र निजामति कर्मचारी एक ढिक्का भएर निर्वाचन सफल रुपमा सम्पन्न गर्न लागिपरिरहेको समेत विश्वास दिलाउनुभयो ।

सरकारले बलियोभन्दा बलियो सुरक्षाको प्रबन्ध गरिसकेकोले निर्वाचन भाँड्ने मनशाय र योजनामा कोही भए तत्काल त्यस्तो बदनियतपूर्ण र गलत सोच भएकाहरुलाई उक्त सोच त्यागेर निर्वाचनमा भाग लिनको लागि आग्रह समेत गर्नुभयो ।

‘यो निर्वाचन महायज्ञ हो, भोट हाल्नको लागि सबै सरिक हुनुपर्छ, हाम्रो आग्रह छ, निर्वाचन विथाल्ने सोच्नुभएको छ भने यो भ्रम त्याग्नुहोस् ।’ उहाँले निर्वाचन विथोल्न खोज्नेहरुलाई र यस्ता गतिविधिमा संलग्न भएकाहरुलाई सरकारले कारबाही गरिरहेको समेत स्पष्ट पार्नुभयो । ‘निर्वाचन विथाल्नेहरुलाई सरकारले कारबाही गरिसकेको छ, फेरि पनि विथोल्न खोज्नेहरुलाई हामी कडाभन्दा कडा कारबाही गर्छौं, उनीहरुलाई हामी हदैसम्मको कारबाही गर्छौं, त्यसैले दिवा सपना नदेखे हुन्छ ।’

@Ujyaaloonline

LEAVE A REPLY