काठमाडौं, असोज २३ l प्रहरी नायव महानिरीक्षक डिआइजी नवराज सिलवालको राजिनामा स्वीकृत भएको छ । सिलवालको राजिनामा गएको शुक्रबारको मिति राखेर स्वीकृत भएको हो ।

डिआइजी सिलवाल गएको भदौ २८ प्रहरी प्रधान कार्यालयमा राजिनामा बुझाउनुभएको थियो । सिलावालले बुझाएको राजिनामा पत्र प्रहरी प्रधन कार्यालयले असोज १ गते गृह मन्त्रालयमा पठाएको थियो । गृहमा आइपुगेको राजिनामा पत्र गृहमन्त्री जनार्दन शर्माले शुक्रबार स्विकृत गर्नुभएको हो ।

गएको फागुन १ गते सिलवालले आफू आइजिपीको प्रमुख दाबेदार हुँदाहुँदै आफूभन्दा भन्दा कनिष्ठ जयबहादुर चन्दलाई आइजिपी बनाएको भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । सर्वोच्चले फागुन ८ मा जयबहादुर चन्दको आइजिपी बढुवा बदर गरेको थियो ।

पछि सरकारले चैत २९ मा डिआइजी प्रकाश अर्याललाई आइजिपी  नियुक्त गरेपछि सिलवाल दोस्रो रिट निवेदन लिएर सर्वोच्च पुग्नुभएको थियो । सिलवालको रिट निवेदन सर्वोच्चले खारेज गरेपछि उहाँले राजिनामा दिनुभएको थियो ।

सिलवाल गएको शुक्रबारबाट नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । योसँगै उहाँको प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न बाटो खुल्ला भएको छ ।
उहाँ ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षमा सिफारिसमा पर्नुभएको छ ।

LEAVE A REPLY