र्सिङ पेशामा पुरुषलाई पनि सामेल गर्नुपर्ने सम्बन्धमा समाचार पढ्न पाँउदा खुसी लागेको छ। एउटा नर्सको नाताले यो विषयमा केही लेख्न मन लागेको छ।

नर्सिङ पेसामा पुरुषलाई कोटामा पढाइनु राम्रो सुरुवात मान्छु म। सुरुमा पुरुषलाई १० प्रतिशत कोटामा नर्सिङ शिक्षा पढाउनुपर्ने सुझाव स्वागतयोग्य छ। पुरुष नर्स आजको आवश्यकता पनि हो। सबै पेशाको आफ्नै छुट्टै मर्यादा र इज्जत हुन्छ। तर, नेपालमा नर्स भन्नासाथ महिला मात्र हुन्छन् भन्ने बुझिन्छ। नर्सिङ पेशालाई नै महिलाको मात्र पेशा हो भनेर बुझिन्छ। अहिलेसम्म त्यस्तै हुँदै आइरहेको पनि छ। नर्सिङ केटीले मात्र पढ्छन्।

वास्तवमा कुनै पनि पेशा महिला वा पुरुषको मात्र हुँदैन। तर, नेपालमा नर्स र महिला पर्यायवाची हुन्। कुनै पनि पेशालाई लैंगिकताका आधारमा छुट्टाइनु हुँदैन भन्ने मेरो मान्यता हो। यसरी पेशालाई नै महिला वा पुरुषको मात्र भनिन्छ भने त विभेद जारी नै रहने भयो। २१औं शताब्दीमा हामी सबै महिला र पुरुष बराबर हौँ भन्दै हिँडिरहेका छौं।

तर, नर्सिङ पेशालाई भने महिलाको पेवाझैँ किन बनाउने? पेशागत रुपमै महिला र पुरुषमा किन विभेद गर्ने? अब यो सिलसिलाको अन्त्य हुनै पर्छ। जसरी भान्सामा काम गर्ने महिलाको काम भनेर वर्षौँदेखि महिलालाई विभेद गरिएको हामी महसुस गर्छौँ त्यस्तै महसुस पुरुषहरुले नगर्लान् भन्ने हुँदैन। सबै पेशामा महिला र पुरुषको सहभागिताले नै विभेदको अन्त्य गर्दै लैजाने हो। तसर्थ, पेशागत रुपमा महिला र पुरुषका नाममा रहेको विभेदको खाडललाई पुर्नुपर्छ।

नर्सिङ त महिलाका लागि मात्र हो भन्नेहरुलाई मेरो प्रश्न छ, के महिला मात्र बिरामी हुन्छन्? बिरामी पुरुषले आफ्नो गोपनीययताका लागि पुरुष नर्सको खोजी गर्न नपाउने? कुनै पनि बिरामीले अस्पतालमा आउँदा आफ्नो बारेमा गोप्यता कायम गर्न चाहन्छ। यो उसको नैसर्गिक अधिकार पनि हो। तर, जब कुनै पुरुष बिरामीले आफ्नो हेरचाह पुरुषले नै गरोस् भन्ने चाहन्छ भने हामी उसको त्यो अधिकार किन खोस्ने? विदेशतिर त पुरुष नर्सहरु हुन्छन्। त्यहाँ बिरामीले पुरुष नर्सबाट नर्सिङ सेवा गराउन चाहन्छ भने सहजै उपलब्ध हुन्छ। तर, नेपालमा खै त पुरुष नर्स?

पुरुष बिरामीलाई पुरुष नर्सले नै हेरचाह गर्दा राम्रो सेवा पाउन सक्छन्। यसो भन्दै गर्दा पुरुष बिरामीलाई महिला नर्सले राम्रो हेरचाह गर्दैनन् भन्ने अर्थ ननिकालियोस्। तर, कतिपय अवस्था यस्ता हुन्छन्, जहा बिरामीले पुरुष नर्सलाई खुलेर समस्या भन्न सक्छन्। बिरामीले राम्रो र गुणस्तरीय सेवा पाउँछ भने पुरुष नर्स हुनुमा के समस्या छ र? त्यसकारण पुरुष नर्सका लागि तत्कालै अध्ययनको बाटो खोलिनुपर्छ। उनीहरुका लागि समयअनुसार निश्चित कोटामा अध्ययन गराउनै पर्छ।

नेपालमा महिला नर्सहरु नै बेरोजगार भएको समयमा पुरुष नर्सहरु आउँदा थप समस्या निम्तिन सक्छ भन्ने आवाज पनि उठ्न सक्छ। तर, त्यो कदापि होइन। नेपालमा अस्पतालहरुले बिरामी र नर्सको अनुपात कहाँ मिलाएका छन् र? हामीले अब यो विषयमा पो आवाज उठाउनुपर्छ त। अस्पतालहरुले बिरामीको अनुपातमा नर्सको दरबन्दी सिर्जना गर्नैपर्छ। बिरामीको अनुपातमा नर्सको दरबन्दी हुन सकेन भने बिरामीले गुणस्तरीय सेवा पाउन मुस्किल हुन्छ।

तसर्थ, नर्सिङ पेशालाई अझ फराकिलो, मर्यादित र गुणस्तरीय बनाउनेतर्फ सबैले सोच्नुपर्छ। लिंगका आधारमा महिलाको मात्र पेशा हो भनेर त्यसै छाडिनु हुँदैन। यो पेशाको सम्मानका खातिर महिला र पुरुष दुवैले सँगसँगै लड्नुपर्छ। नर्सिङ पेशाको विकास र विस्तारका लागि यी विषयमा सोच्ने हो कि?

(अधिकारी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छिन्)

Via: swasthyakhabar.com

LEAVE A REPLY