१८ बैशाख, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई ‘रातारात क्रान्तिकारीबाट प्रतिक्रान्तिकारी रुपान्तरण गरेको शक्ति’ का रुपमा विश्लेषण गरेको छ । उसले माओवादीलाई विदेशीका सामू लम्पसार पर्ने शक्तिसमेत भनेको छ ।

नयाँ शक्ति पार्टीले सोमबार सार्वजनिक गरेको स्थानीय तह निर्वाचनसम्बन्धी प्रतिवद्धतापत्रमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा लगायतका दलहरुको चरित्र चित्रण गरिएको छ । यसक्रममा प्रचण्ड नेतृत्वको माओवादीलाई उसले ‘प्रतिक्रान्तिकारी टीमको थप खेलाडी’ भनेको छ ।

नयाँ शक्ति पार्टीले नेपाली कांग्रेसलाई अकर्मन्यतामा फसेको बताएको छ भने एमाले कर्मचारी तन्त्रमा पकड जमाएर पनि भ्रष्टाचार अन्त्यका लागि पहल नगरी अर्कमन्यतामा फसेको जनाएको छ । उसले राप्रपालाई राजतन्त्र फर्काउन खोज्ने ‘प्रष्ट दक्षिणपन्थी दल’ भनेको छ ।

नयाँ शक्ति पार्टीको घोषणापत्रले विभिन्न दलहरुबारे यसरी विश्लेषण गरेको छः

नेपाली कांग्रेसः संघीयतामा अस्पष्ट

नेपाली कांग्रेस अहिले संसदको पहिलो पार्टी हो । यो पार्टी २०४६ यता सबैभन्दा बढी सत्तामा बस्ने र सरकारको नेतृत्व गर्ने पार्टी हो । यसलाई विगत तीन दशकको शासक पार्टी पनि भन्न सकिन्छ । २००७ सालको राणाशाही विरुद्धको संघर्ष र २०४६ सालको पञ्चायती निरंकुशता विरोधी आन्दोलनमा यो पार्टीले सकारात्मक भूमिका नै निभाएको थियो ।

संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रलाई आफ्नो औपचारिक सिद्धान्त मान्ने यो पार्टी परिस्थितिको चपेटामा परेर अनिच्छावश गणतन्त्रको आन्दोलनमा लतारियो । तर, आज ऊ आफू नै गणतान्त्रिक आन्दोलनको मुख्य नेता थियो भनेर जनसमुदायमा भ्रम छर्न खोजिरहेको छ ।

संघीयताका बारेमा पनि यो पार्टी कहिल्यै प्रष्ट थिएन । फलतः संविधानसभाबाट संविधान निर्माण कार्य सबैको अपनत्वमा हुन सकेन । मधेसी-थारु, आदिवासी जनजाति आन्दोलनप्रति पनि यो दल खासै सकारात्मक हुन सकेन । देशमा शासकीय स्वरुप परिवर्तन गर्न नदिने, विकृत संसदीय प्रणालीलाई कायमै राख्ने, जनताको सार्वभौमसत्तामा आधारित प्रत्यक्ष लोकतन्त्र अभ्यास गर्न बाधा सिर्जना गर्ने, पूर्ण समानुपातिक संसद हुने निर्वाचन प्रणालीमा अनिच्छा व्यक्त गर्ने मुख्य दल पनि यही हो ।

करिब ३ दशक मुख्य शासक पार्टीका रुपमा रहेर पनि आर्थिक क्रान्तिमा टेवा पुर्‍याउन सकेन । २०४६ पछिको परिस्थितिमा यो दलले नवउदारवादी आर्थिक नीति लियो र उसले भन्ने गरेको ‘प्रजातान्त्रिक समाजवाद’ पनि देखावटी मात्र हो भन्ने सिद्ध गर्‍यो । अहिले यो दल चरम अकर्मण्यतामा फसेको छ । देशलाई विकास, सुशासन, राजनीतिक स्थीरता र समृद्धितिर उन्मुख गराउने सम्भावना यो दलले राख्दैन ।

नेकपा एमालेः सामाजिक फासीवादी

दोस्रो दल नेकपा (एमाले) ले आफूलाई अझै पनि ‘कम्युनिष्ट’ भन्ने गर्दछ जब कि उसको सिद्धान्त, नीति तथा कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’ प्रकारान्तरले ‘सामाजिक जनवाद’ र ‘युरो कम्युनिज्म’कै अर्को संस्करण हो । व्यवहारमा भने यो दलले ‘सामाजिक फासीवादी’ कार्यदिशा अवलम्बन गर्न थालेको छ ।

देशका सीमान्तकृत समुदायका आन्दोलनहरुलाई समेटेर बलियो राष्ट्रिय एकता निर्माण गर्नुपर्नेमा उल्टै त्यस्ता आन्दोलन र समुदायलाई लाञ्छित गर्ने, अर्थहीन र सतही गालीगलौजमा उत्रिएर पहाड-मधेशबीचको मनोवैज्ञानिक विभाजनलाई गहिरो पार्ने, संघीयताको आन्दोलनलाई ‘जातीय’ आन्दोलनका रुपमा चित्रण गर्दै संघीयताप्रतिको अल्पज्ञान प्रस्तुत गर्ने, देशको राजनीतिक समस्या हल गर्न कहिल्यै आफूले कुनै सिर्जनशील प्रस्ताव नल्याउने, जहिल्यै प्रतिक्रियात्मक राजनीति गर्ने र देशलाई संकटमा पारिरहने, शासकीय स्वरुप परिवर्तन गर्ने पक्षमा अनिच्छा व्यक्त गर्ने आदि काम यो दलले गरिरहेको छ ।

देशको कर्मचारीतन्त्रमा पकड जमाउने तर भ्रष्टाचार हटाउन र सार्वजनिक सेवाहरुको गुणस्तर सुधार गर्न कुनै प्रयास नगर्ने जस्ता बेथितिहरुमा एमाले फसेको छ ।

माओवादी केन्द्रः ‘लम्पसारवादी’

संसदको तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) भने रातारात क्रान्तिकारीबाट प्रतिक्रान्तिकारी रुपान्तरण गरेको शक्तिका रुपमा देखिएको छ । सत्तालिप्साका लागि यावत कुकर्महरु गर्ने, अपारदर्शी धन र भ्रष्टाचारमा लिप्त हुँदै जाने, संविधान संशोधनमार्फत् देशलाई राजनीतिक निकास दिन दृढतापूर्वक उभिन नसक्ने, बाहिरबाहिर राष्ट्रवादको कुरा गर्ने भित्रभित्रै विदेशी शक्तिकेन्द्रको कृपा र आशिर्वाद प्राप्त गर्न लम्पसार पर्ने, जालझेल र षडयन्त्रमार्फत् शक्तिमा टिकिहरन खोज्ने, देशका क्रान्तिकारी शक्तिहरुमाथि अनेक प्रकारले षड्यन्त्र र दमन गर्ने, राज्यका संस्थागत प्रक्रियाहरुलाई समाप्त पारी जताततै अराजकतालाई प्रश्रय दिने गरिरहेको छ ।

समग्रमा माओवादी केन्द्र क्रान्तिकारीहरुको कित्ताबाट उछिट्टएिर प्रतिक्रान्तिकारीहरुको टिममा सामेल हुन पुगेको एउटा थप खेलाडीजस्तो भएको छ ।

राप्रपाः ‘जता मल्खु, उतै ढल्कु’

चौथो दल राप्रपा भने प्रष्ट दक्षिणपन्थी दल हो । उसले राजतन्त्र ब्यूँताउने मुख्य एजेण्डा बोकेको छ । तर, त्यसलाई हिन्दूत्वको आवरणले ढाक्ने दुष्चेष्टा गरिरहेको छ ।

यो दलप्रति देशको आधुनिक जनमत र प्रगतिशील तप्काको खासै अपेक्षा पनि नभएको हुँदा खासै चर्चा पनि गरिरहन जरुरी छैन ।

सत्ता राजनीतिमा ‘जता मल्खु, उतै ढल्कु’ गर्ने यो दल जतिवटा सत्ता समीकरण बने पनि, भत्किए पनि सदावहार सत्ता साझेदार जस्तो बन्ने गरेको छ । संसदीय प्रणालीभित्र राजनीतिक अस्थीरता बढाउने, सत्तागठबन्धनभित्र दबाव बनाएर आफ्ना पश्चगामी अपेक्षाहरुको परिपोषण गर्न यो दल उद्यत देखिन्छ ।

मधेसकेन्द्रित दलः राष्ट्रिय भावना आत्मसात गर्न नसक्ने

यीबाहेक अरु केही क्षेत्रीय दलहरु छन् । भर्खरै मधेशकेन्द्रित दलहरुको केही समूह मिलेर राष्ट्रिय जनता पार्टी बनेको छ । नेपालका क्षेत्रीय दलहरुले विभिन्न क्षेत्रका सीमान्तकृत समुदायको आवाजलाई महत्वका साथ उठाए पनि समग्र राष्ट्रको भावनालाई आत्मसात गर्न सकिरहेका छैनन् ।

LEAVE A REPLY