पोखरा, १० वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद जिवन परियारले धादिङको सवै गाउँपालिका र नगरपालिकामा काँग्रेसको जित गराउन सिङ्गो नेपाली काँग्रेस लाग्ने बताएका छन् । नेपाली काँग्रेस धादिङ पोखरा सम्पर्क सदनद्वारा आयोजित शुभकामना आदन प्रदान तथा चुनावी सभाको उद्घाटन गर्दै युवा नेता परियारले कांग्रेसले संविधान सभा चुनावमा गरेको वाचा संविधान बनाएर पूरा गरेको भन्दै अबपनि बाचा नभुल्ने स्पष्ट पारे । अहिलेको राजनीतिमा एमाले जिम्मेवार भएर प्रस्तुत हुन नसकेको भन्दै उनले एमालेकै कारण मुलुकको समस्या समाधान हुन नसकेको बताए । उनले भने–‘एमाले आफू सरकारमा रहँदा पनि मधेशको समस्या समाधान गर्न ध्यान दिएन, अहिले पनि ममस्या समाधानमा बखेडा झिकिरहेको छ ।’
सम्पर्क सदनका सभापति केदार धमलाको अध्यक्षतमा भएको कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले पोखरामा रहेका जिल्लावासीसंग मत र आशिर्वाद माग्दै धादिङको विकासमा सघाउन अनुरोध गरे । आशन्न स्थानीय तहको निर्वाचनमा धादिङको सबै तहमा कांग्रेसलाई जिताउन पोखरामा रहेका जिल्लावासीको मत निर्णायक हुने भन्दै एमालेको ढुलमुले शैलीले धादिङको विकास नभएको प्रस्ट पारे ।
कार्यक्रममा कास्कीका पार्टी सभापति कृष्ण केसीले चुनावमा कांग्रेसलाई जिताउन पोखरामा रहेका सबै धादिङवासी जिल्ला फर्कन आग्रह गरे। कास्की कांग्रेसका लागि धादिङवासीले धेरै महत्वपूर्ण गुन लगाएको स्पष्ट पार्दै उनले भने–‘तपाइँहरु चुनावमा जिल्ला फर्कनुहोस्, यसअघि कास्की कांग्रेसका लागि योगदान गर्नुभयो । अबको केही दिन र केही योगदान धादिङ कांग्रेसका लागि दिनुहोस् ।’ ‘धादिङको सबै तहमा कांग्रेसले जित्नेगरि अघि बढ्नुहोस्, तपाइँहरुलाई साथ दिन कास्की कांग्रेस तयार छ’, उनले भने–‘तपाइँहरु धादिङवासी निकै परिश्रमी र त्यागी हुनुहुँदोरहेछ, जतापनि काम लाग्ने ।’ कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष एवं नेपाली काँग्रेसका पूर्व आमन्त्रीत केन्द्रीय सदस्य राम्जी कुँवरले मजदुर मैत्री संविधान बनाउन पनि नेपाली काँग्रेसले जित्नै पर्नेमा जोड दिए । पोखरा लेखनाथ महानगरपालिकाको मेयरको आकांक्षी कुँवरले धादिङबाट विभिन्न सहरमा पेशा व्यवसाय गर्ने अधिकार काँग्रेसले नै दिएको भन्दै अन्य पार्टीको जितले जनताले दुःख पाउने बताए । सदनका सचिव माधव लम्सालको सञ्चालनमा रहेको कार्यक्रममा पार्टी सचिव विनोद तिमिल्सिनाले विगतमा गरेका गल्ती नदोहो¥याउने गरि कांग्रेस अघि बढेको बताएँदै विगतका चुनावमा केही प्राविधिक कमजोरीले कांग्रेस पराजित भएको बताए ।
सभालाई सम्वोधन गर्न युवा नेता तिलक रुवाली, त्रिपुरासुन्दरी गाउँपालिकाका उम्मेदवार वासुदेव तिमिल्सिना, क्षेत्रीय सभापति योगबहादुर तामाङ, जिल्ला सदस्य रामप्रसाद अधिकारी, गजुरी गाउँपालिकाका सम्भावित उम्मेदवार मोहन पण्डित लगायतको सहभागिता रहेको थियो ।
नेताहरुले मुलुकको पटक–पटकको आन्दोलनको नेतृत्व र संविधान निर्माण कांग्रेसले नै गरेको भन्दै उनले संविधानको सही कार्यान्वयन गर्नका लागि पनि अबको चुनावमा कांग्रेसले नै जित्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि प्रा.डा. ठाकुर सिलवाल, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकाल लगायतले बोलेका थिए । सभामा कांग्रेस गीतमा सांस्कृतिक कार्यक्रम प्रस्तुत र अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गर्नेलाई स्वागत गरिएको थियो ।

LEAVE A REPLY