महोत्तरी, बैशाख १ । महोत्तरीको बर्दिबास–२ मा मुसहर समुदायका लागि निर्माण गरिएको धर्मुस–सुन्तली एकीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ ।

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउन्डेशनले बनाएको ५३ वटा भवन एक समारोहकाबीच हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एकीकृत मुसहर बस्ती संरक्षण समिति अध्यक्ष बिल्तु सदालाई साँचो दिएर बस्ती हस्तान्तरुण गरे ।

बस्ती हस्तान्तरण कार्यक्रममा मूख्य सचिव सोमलाल सुवेदी, महजोडी, धुर्मुस-सुन्तलीका बुबा-आमा लगायत उपस्थिति भएका थिए ।

फाउन्डेसनले तीन कोठा, बरन्डा र चोटासहितको ५० आवासीय घर, एउटा सामुदायिक भवन र मुसहर समुदायको कुलदेवता दिनाभद्रीको मन्दिर निर्माण गरेको छ ।

बस्तीका तीनवटा घर भने गैर मुसहरका लागि उपलब्ध गराइएको छ । फाउन्डेशनका अनुसार एक घर बनाउन करिब ८ लाख खर्च भएको छ ।

मानवता र सद्भावका लागि सहकार्यअन्तर्गत दलित समुदायका लागि नमुना बस्ती बनाइएको हो । देश–विदेशबाट सहयोग संकलन गरेर कलाकारद्वय धुर्मुस-सुन्तलीले बस्ती निर्माण गराएका हुन् ।

बस्तीका प्रत्येक घरमा चर्पी, खानेपानीका लागि ट्यांकीसहितको धारा, सुत्ने खाट, हरेक घरमा ग्याससहित चुल्हो जडान गरिएको छ ।

बस्तीमा स्वागतद्वार, प्रतिक्षालय, बाल उद्यान, बस्ती अवलोकनका लागि भ्यू टावर निर्माण गरिएको छ । हरेक घर अगाडी बगैंचा तयार गरिएको छ ।

बस्ती हस्तान्तरणअघि र्‍यालीसमेत निकालिएको थियो । धुर्मुस-सुन्तली फाउन्डेसनले २०७३ पुस २५ गते शिलान्यास गरी निर्माण आरम्भ गरेको बस्ती तीन महिनामै तयार गरी समुदायलाई हस्तान्तरण गरिएको हो ।

@Imagekhabar

LEAVE A REPLY