कार्तिक १६,पोखरा l फेवाताल किनार बाराही घाट खेल मैदानमा अत्याधिक धनराशिको सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको छ । लेकसाइड फुटवल क्लवको आयोजना तथा बैदाम युथ क्लवको सहयोगमा यहि कार्तिकको १९ देखि २५ गते सम्म दोश्रो संस्करणको दिपेश मेमोरियल सेभेन ए साइड अन्तर क्लव नकआउन फुटवल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको तयारी तिब्र पारिएको आयोजक क्लवका अध्यक्ष भुवन लामिछानेले जानकारी दिए । ‘खेल मैदान स्तरिय बनाउन घाँस काट्ने, माटो भर्ने र सम्याउने काम सकिएको छ’– अध्यक्ष लामिछानेले भने ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख ५० हजार सहित शिल्ड मेडल तथा द्वितिय हुनेले ७५ हजार सहित कप मेडल पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर, अनुशासित टिमले नगद ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

क्लवका सहयोगी स्थानिय युवाहरु स्वर्गिय संगम केसी, मिथुन विश्वकर्मा, अमोल अधिकारी र शैलेश पहारीको सम्झनामा हुन लागेको प्रतियोगिता सम्पन्न गर्न झण्डै ११ लाख ८५ हजार खर्च लाग्ने आयोजक क्लवको अनुमान रहेको छ । प्रतियोतिगाबाट बचत भएको रकमले क्लवको आन्तरिक विकास तथा सामाजिक कार्यमा खर्चिने प्रतियोगिता संयोजक रबिन अधिकारीले जानकारी दिए । प्रतियोगितामा झण्डै ४० क्लवले सहभागिता जनाउने बताइएको छ ।

LEAVE A REPLY