बैशाख ३, पोखरा l आर्थिक समृद्धिकालागि उद्यमशिलता भन्ने उद्घोषका साथ पोखरा बगरकी मिरा पौडेल के.सीले दिदि बहिनी हस्तकला उद्योग संचालनमा ल्याएकी छिन् ।
सो उद्योगको कास्की पोखरा हस्तकला संघका अध्यक्ष एवं महिला उद्यमी हिरा भट्टराईले एक कार्यक्रमका बीच उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै भट्टराईले दुई महिना अघि हस्तकलाको तालिम लिएर व्यवहारिक रुपमै उद्योग संचालन गरेकोमा बधाई ज्ञापन गरिन् । ‘तालिम लिनेहरु धेरै हुन्छन् तर व्यवसायिक रुपमा अघि बढ्नेहरु निकै कम हुन्छन्, मिराले छोटो समयमै तालिमको उपलब्धिलाई ब्यवहारमा उतारिन्’ यो निकै सकारात्मक हो । महिला आर्थिक रुपमा सवल र सक्षम हुन सके हिंसा घट्ने उनको भनाई थियो ।
कार्यक्रममा अधिवक्ता भगवति पहारीले हस्तकला पछिल्लो समय महिलाहरुको आयस्रोतको माध्यम बनिरहेको बताइन् । उद्योगले अन्य महिलालाई पनि रोजगार प्रदान गर्ने र आत्मनिर्भरता तर्फ उन्मुख गराउन सहयोग हुने उनको भनाई थियो । नमुना आमा समुह बगरका अध्यक्ष कल्पना बाँस्तोलाले मिराको लगनशिलता र मेहनत देखेर नै दुई महिना अघि संचालित तालिमकालागि सिफारिस गरेको स्मरण गरिन् । आज उनै मिराले उद्योग संचालन गरेको देख्दा निकै खुशि लागेको बताइन् ।
दिदी बहिनी हस्तकला उद्योगका संचालक मिरा पौडेलले तालिम सिके पछि हौसला मिलेकाले उद्योग संचालन गर्ने सोच आएको बताइन् । उनले उद्योगमा पोतेका विभिन्न आइटम, फेब्रिकका माला, ब्याज र छ्वालीबाट निर्मित सामान तयार गरी विक्रि वितरण गरीने जानकारी दिइन् ।

LEAVE A REPLY