कैलालीमा बस दुर्घटना ३ को मृत्यु, ३४ जना घाइते

धनगढी-डडेल्धुरा भीमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको चुरे गाउँपालिका-३ धपेनी भन्ने स्थानमा आइतबार बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक बालक र दुई महिला सहित तीन जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मृत्यु हुनेमा शिवनाथ गाउँपालिका बैतडीका ६४ वर्षीय बुन्ती चन्द, पञ्चेश्वरकी २४ वर्षीय कविता तिवारी र पाटन नगरपालिका– ५ का १८ वर्षीय रेवती भट्ट हुन् । शनिबार बेलुकी बैतडीको मेलौलीबाट छुटेको कञ्चनपुरको पवनदूत यातायातको ना ७ ख २७२३ नंम्वरको वस आइतबार विहान ४ बजेतिर सडकवाट भीरमा खस्दा दुर्घटना भएको हो । बस छुट्ने बेला ४२ जना यात्रु सवार रहेको समितिका पदाधीकारीले बताएका छन् ।

त्यस्तै घाइतेको संख्या पनि बढेको छ । बिहानसम्म प्रहरीले २७ जना मात्रै घाइते बताएपनि अहलिेसम्म घाइतेको संख्या ३४ जना पुगेको छ । दुर्घटना स्थलबाट सार्वजनिक यातायात, ट्रक र एम्बुलेन्सबाट घाइतेहरुलाई कैलालीको अत्तरियामा रहेको पद्मा अस्पताल ल्याउने क्रम जारी रहेको छ ।अत्तरियामा चिकित्सकहरुको टोली उपचारमा खटिएको छ । घटनास्थलमा उद्धारको कार्य जारी रहेको छ भने घाइतेहरुलाई उपचारका लागि कैलाली पठाइदैछ । दुर्घटनापछि सशस्त्र र प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा खटिएको छ ।

दाङमा ट्रक र जिप ठोक्किँदा दुईजनाको मृत्यु

दाङ, कात्तिक २६ l दाङमा ट्रक र जिप ठोक्किँदा दुईजनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् ।आइतबार बिहान दाङको नर्तीमा ट्रक र जिप ठोक्किँदा जिपमा रहेका शिखरपुरकी ३६ वर्षकी रामपति चौधरी र अन्दाजी ३० वर्षकी अर्की एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।घाइते मध्ये ६ जनालाई बुटवल र चारजनालाई उपचारका लागि लम्की लगिएको छ । ट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

सिंहदरबार चोकमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं, कात्तिक २६ l काठमाडौंको सिंहदरबार चोक नजिकै ट्याक्सी र मोटरसाइकल ठोक्किँदा धादिङका रुप घलेको ज्यान गएको छ ।  आइतबार बिहान बा २ ज २३ ४४ नम्बरको ट्याक्सीले बा ३३ प ७४३ मोटरसाइकललाई ठक्कर दिँदा धादिङ रुबीभ्यालीका २१ वर्षका रुप घलेको ज्यान गएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY