काठमाडौं, कात्तिक १७ – आउँदो मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुँदैछ । संविधान जारी भएर संक्रमणकाल अन्त्य गर्दै स्थायित्वतर्फ लाग्ने यो चुनावलाई धेरै महत्वका साथ हेरिएको छ । यसैकारण दलहरुले चुनावी घोषणापत्रमा राजनीतिक विषयभन्दा पनि स्थायित्व र संवृद्धिमा जोड दिएका छन् । दलहरुले विकासका कुन एजेण्डालाई घोषणापत्रमा कसरी उठाएका छन् त ?

लामो संक्रमणकाल अन्त्य गर्दै देशलाई स्थायित्वतर्फ अघि बढाउने मूल ढोकाका रुपमा लिइएको आसन्न चुनावमा दलहरुले घोषणापत्रमार्फत विकासका एजेण्डालाई प्राथामिकता दिएका छन् । घोषणापत्रमा राजनीतिक आन्दोलन र परिवर्तनका कुराभन्दा पनि आर्थिक विकास, पूर्वाधार निर्माण, कृषिमा आधुनिकीकरण, जल विद्युत् उत्पादन, पर्यटन जस्ता क्षेत्रमा उल्लेख्य काम गर्ने प्रतिबद्धता जनाउँदै दलहरु चुनावी मैदानमा उत्रेका छन् । वामपन्थी र लोकतान्त्रिक दुवै पक्षले महत्वकांक्षी सपनाहरु मतदातामाझ पुर्‍याउँदै छन् । विषयगत रुपमा सूचीबद्ध गरिका दलका घोषणा साँच्चै कार्यान्वयन हुने हो भने केही वर्षमै देशको मुहार फेरिन सक्छ ।

नेपाली कांग्रेसले ५ वर्षभित्र अर्थतन्त्रको आकार ५० खर्व र प्रतिव्यक्ति औसत वाषर््िाक आय एक लाख ५० हजार पुर्‍याउने घोषणापत्रमा उल्लेख गरेको छ । उसले १० वर्षमा मध्यम आय भएको देशका रुपमा दर्ज हुने वाचा गरेको छ । वाम गठबन्धनले भने पाँच बर्षमा देशलाई विकासशील राष्ट्रको सूचीमा पुर्‍याउने र १० वर्षमा प्रतिव्यक्ति आय पाँच हजार डलर पुर्‍याउँदै सन् २०९९ सम्म नेपाललाई विकसित देशमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

दुवै पक्षको घोषणापत्रमा कृषिको विकासलाई महत्व दिइने उल्लेख छ । कांग्रेसले उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरी, कृषिको व्यवसायीकरण गर्ने रणनीति अबलम्बन गर्ने जनाएको छ । कृषिका लागि चाहिने पूर्वाधारहरुमा जोड दिँदै कांग्रेसले सार्वजनिक, निजी, सहकारी साझेदारीमा ३ वर्षभित्र एउटा रासायनिक मल कारखाना स्थापना गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

वाम गठबन्धनको घोषणापत्रमा पनि कृषिलाई उत्तिकै महत्वका साथ प्रस्तुत गरिएको छ । दुई २ वर्ष भित्र जमिनको नापी गर्दै सबै तथ्यांक अध्यावधिक गर्ने, वैज्ञानिक भूमिसुधार लागू गर्ने, भूउपयोग नीति लागू गर्ने घोषणापत्रमा उल्लेख छ । दुई वर्षमा नेपाललाई आधारभूत रुपमा खाद्यान्न तथा माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउँदै ५ वर्षमा सबै खाले खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्‍याउने सपना वाम गठबन्धनले बाँडेको छ ।

कांग्रेसले १० वर्षभित्र पर्यटनको क्षेत्रमा कायापटल गर्ने आश्वासन बाँडेको छ । उसले दश वर्षमा नेपाल भित्रने पर्यटकको संख्या ३२ लाख पुर्‍याउने र त्यसै अनुसार पर्यटकीय क्षेत्र र पूर्वाधारको विकास गर्ने प्रतिबद्धता जनाएको छ । वाम गठबन्धनले १० वर्षमा ५० लाख पर्यकटक भित्र्याउने, ताप्लेजुङदेखि दार्चुलासम्म जोड्ने ‘हिमाली पर्यटकीय पदमार्ग’ बनाउँदै धार्मिक पर्यटनलाई पनि आय आम्दानीको गतिले स्रोत बनाउने उल्लेख गरेको छ । उसले पनि पर्यटकीय पूर्वाधारलाई उत्तिकै जोड दिने प्रतिबद्धता जनाएको छ ।

कांग्रेसले वढ्दो व्यापार घाटा घटाउन औद्योगिक पुनर्जागरणको अभियान थाल्ने र उद्योग र व्यापारलाई सहजीकरण गर्न एकीकृत उद्योग वाणिज्य मन्त्रालय तथा एउटा स्वायत्त राष्ट्रिय व्यापार प्राधिकरणको स्थापना गर्ने घोषणापत्रमा लेखेको छ । वार्षिक एक खर्ब विदेशी लगानी भित्र्याउने, औद्योगिक सुरक्षा, पूर्वाधार विकास, नीतिगत स्थायित्व, सुशासन, निजी क्षेत्र र मजदुर युनियन सहज सम्बन्ध स्थापित गरि औद्योधिक वातारण बनाउने वाचा कांग्रेसको घोषणापत्रमा गरिएको छ ।

प्रत्येक प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र बनाउने प्रतिबद्धता कांग्रेसले जनाएको छ । वाम गठबन्धनले पनि एक प्रदेशमा कम्तिमा एउटा आधुनिक औद्योगिक क्षेत्र बनाउने, दश वर्षमा दश लाखलाई उद्योगमा रोजगारी दिने, उद्योग स्थापना भएको पाँच वर्षसम्म बिजुली, पानी र करमा छुट दिने उल्लेख छ । वाम गठबन्धनले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम खोल्ने र ५ वर्षभित्र मुस्ताङबाट युरोनियम खनेर बेच्ने सपना पनि बाँडेको छ ।

ऊर्जाको क्षेत्रमा पनि दलहरुले निक्कै महत्वाकांक्षी सपना बाँडेका छन् । कांग्रेसले पाँच वर्षमा ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने र ठूला आयोजनालाई बहुउद्देश्यीय रुपमा समयमै सम्पन्न गर्ने, कम्तिमा चार सय के.भी. क्षमताका ५ वटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने, पाँच बर्षमा पूर्व–पश्चिम उच्च–भोल्टेज क्षमताको १०५० किलोमिटर ट्रङ्क प्रसारण लाइन निर्माण गर्ने, विद्युत्मा विदेशी लगानी भित्र्याउने प्रतिबद्धता जनाएको छ । वाम गठबन्धनले पनि ऊर्जा क्षेत्रमा ठूलठूला आश्वासन बाँडेको छ ।

उसले १० वर्षमा २० हजार  मेगावटा बिजुली उत्पादन गरेर भारत, चीन र बंगलादेशमा बेच्ने, ३ वर्षभित्र काठमाडौं उपत्याकामा विद्युतीय सवारी साधन चलाउने, १० वर्षमा देशका ठूला आयोना निर्माण सक्ने, घर–घरमा बिजुली जनजनमा शेयरको नीति अबलम्बन गर्ने प्रतिबद्धता जनाएको छ ।

यातायातको विकासमा पनि दलहरुले उत्तिकै आवश्वसान दिएका छन् । कांग्रेसले पाँच वर्षमा हुलाकी राजमार्ग, मध्य–पहाडी राजमार्ग, र काठमाण्डौं निजगढ बनाइसक्ने, काठमाडौं–पोखरा राजमार्गलाई चार–लेनको द्रुत–मार्ग बनाउने, उत्तर दक्षिण जोड्ने ५ वटा राजमार्ग बनाउने सपना देखाएको छ ।

वाम गठबन्धनले पनि चार वर्षमा काठमाण्डौं निजगढ सडक बनाइसक्ने, हुलाकी राजमार्गलाई ३ वर्षमा बनाउने, पूर्वपश्चिम राजमार्गलाई ५ वर्षमा आठ लेनको बनाउने, ५ वर्षमा चीनबाट रेल ल्याउने, काठमाडौंमा पनि रेल चलाउने र आउँदो दश वर्षभित्र ८१ हजार किलोमिटर आधुनिक सडक निर्माण गर्ने आश्वासन बाँडेको छ । मुख्य दुई गठबन्धनको घोषणापत्र हेर्दा आउँदो चुनावमा जसले जिते पनि देशको  छिटै मुहार फेरिएला कि जस्तो लाग्छ ।

तर यसअघिका चुनावमा पनि दलहरुले घोषणापत्रमार्फत यस्तै सपना बाँडेकाले मतदातालाई त्यति धेरै पत्यार चाहिँ लागेको छैन ।

  • unn.com.np

LEAVE A REPLY