१९ वैशाख, काठमाडौं । आज विश्व आस्थमा दिवस, ‘स्वच्छ वायु, राम्रो सास’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आस्थमालाई चलनचल्तीको भाषामा ‘दम’ रोग भनेर चिनिन्छ ।

विश्व आस्थमा दिवस २०१७ कै अवसरमा अनलाइनखबरले त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जका प्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. करबीरनाथ योगीसितको कुराकानीमा आधारित छोटो जानकारी तयार पारेको छ ।

के हो दम ?

आस्थमा भनेको श्वास प्रश्वाससित सम्बन्धित एउटा रोग हो । वातावरणीय प्रदुषण, धुवाँ धुलो, चिसो तथा फूल फूल्ने मौसममा फूलको परागको कणबाट हुने विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई आस्थमा हुन सक्दछ ।

यदि कसैलाई एलर्जी छ र त्यो लामो समयसम्म रहृयो भने मानिसलाई आस्थमा हुने गर्दछ ।

आस्थमामा श्वास प्रश्वासका कोषिकाहरुले एक प्रकारको इन्जाइम उत्पादन गर्दछन्, जसले फोक्सोको मांसपेशीहरुलाई खुम्च्याई श्वास प्रश्वास नलीमा व्यवधान उत्पन्न गराउँछ र मानिसलाई श्वास फेर्नमा अप्ठेरो महसुस भई खोकी लाग्ने, स्वाँ-स्वाँ हुने, छाती कस्सिने लगायतका लक्षण हुने गर्दछन् । चुरोट खाने र धुवाँमा बस्ने कारणले हुने दमखोकीलाई सी.ओ.पी.डी.भनिन्छ ।

दम किन हुन्छ ?

दम (आस्थमा) रोग बिभिन्न कारणले लाग्ने गर्दछ । तिमध्ये केही प्रमुख कारणहरु यस्ता छन् ।

१.वंशाणुगत आस्थमाः विशेषगरी ३०/३५ वर्ष उमेर समूहका मानिसमा प्रायः देखिने यस्ता आस्थमा वंशजका कारण हुने गर्दछ । आन्तरिक कारणले नै हुने भएको यस प्रकारको आस्थमालाई इन्टि्रन्सिभ आस्थमा पनि भन्ने गरिन्छ । वंशाणुगत कारणले हुने भएकाले यस्ता आस्थमा पूर्ण निको पार्न कठिन हुने गर्छ । यो रोग उमेर ढल्कदो उमेरसँगै बढेर जान्छ ।

२.वातावरणीय प्रदुषणः कयौं मानिसहरुलाई वायु प्रदुषणका कारणले एलर्जी र पछि आस्थमा हुने गर्दछ । जसलाई एक्सटि्रन्सिभ आस्थमा पनि भन्ने गरिन्छ । यस्तो आस्थमा केटा-केटी र बयस्कहरूमा हुने गर्दछ । धुलो, धुवाँ, प्रदुषणका कारण उत्पन्न हुने एलर्जीको समयमै उपचार नगरेको खण्डमा त्यसले स्वाँ-स्वाँ सहितको दम, खोकी निम्त्याउने गर्दछ र आस्थमा हुने गर्दछ ।

३.मौसमी परिवर्तनः कयौं मानिसहरुमा मौसमी परिवर्तनका कारण पनि आस्थमा हुने गर्दछ । यस्ता एलर्जी विशेषगरी फागुन, चैत तथा असोज, कात्तिक महिनामा अर्थात् फूल फूल्ने मौसममा बढी देखा पर्ने गर्दछ । विशेषगरी फूल फूल्ने मौसममा फूलको परागको कणका कारण मानिसलाई एलर्जी हुने गर्दछ । जसले दम बढाउँछ ।

४. पेशागतः मिल, मैदा उद्योग, कपडा उद्योग, सिमेन्ट उद्योग, बाटोघाटोमा काम गर्ने व्यक्तिहरुमा पनि आस्थमाको जस्तै समस्या देखिने गर्दछ । जसलाई चिकित्सकिय भाषामा ‘पेशागत दम खोकी’ भन्ने गरिन्छ । काम गर्ने क्रममा धुलो धुँवा उड्ने र श्वास फेर्नेबेला नाक मुखबाट फोक्सोसम्म धुलो गएर दम हुन्छ ।

५. मुटु रोगले हुने आस्थमा : मुटु रोगीलाई सोही कारणले दम खोकी भएमा पनि आस्थमाका जस्तै लक्षण हुने गर्दछ ।

यस अर्थमा सबै दम खोकी आस्थमा नहुन पनि सक्दछन् । चुरोट खानेलाई पनि दम, खोकी हुन्छ । आई.एल.डी.मा पनि दम खोकी हुन्छ । त्यस्तै, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज -सी.ओ.पी.डी.), टि.बी. अर्थात क्षयरोग, निमोनिया भएका विरामीहरुमा पनि दम तथा खोकीको समस्या देखा पर्ने गर्छ । तर ती आस्थमा होइनन् ।

त्यसैले, आस्थमा हुन कि त पुस्तैनी वा वंशाणुगत समस्या वा परिवारका कुनै व्यक्तिलाूई त्यो समस्या भएकै हुनुपर्छ । त्यस्तै, मौसमी एलर्जी वा लामो समयसम्म कुनै प्रकारको एलर्जी भएर त्यसले गर्दा खोकी लागेको वा स्वाँ- स्वाँ भएको हुनैपर्छ ।

दम लागेको कसरी थाहा पाउने ?

सामान्यतयाः वायु प्रदुषण तथा एलर्जीका कारण हुने आस्थमा उपचारबाट निको पार्न सकिन्छ । तर खोकी लाग्दालाग्दै पनि त्यसको उपचारै नगरी, स्वाँ-स्वाँ हुने, छाती कराउने अवस्थाको सिर्जना भएमा क्रोनिक आस्थमा हुने गर्दछ ।

बच्चाहरुमा भाइरल संक्रमणका कारण ब्रोनकाइटिस भएमा पनि आस्थमा जस्तै लक्षण हुने गर्दछन् ।

हाछ्यूँ आउने, घाँटी खसखसाउने, नाक, कान, घाँटी चिलाउने, नाक बन्द हुने, पानी जस्तो पातलो सिगान बग्ने, खोकी लाग्ने, स्वाँ-स्वाँ हुने, सास फेर्न कठिनाई हुने, छाती कसिने यसका प्रमुख लक्षण हुन् ।

उपचार विधि

यदि कसैलाई वायु प्रदुषण, मौसमी परिवर्तन लगायतका बाह्य कारणले आस्थमा भएको देखिएमा सो मौसममा नियमित औषधि सेवन तथा निरन्तरको उपचारबाट यो रोग पूर्णरुपमा निको पार्न सकिन्छ । तर यदि उक्त व्यक्तिलाई वशांणुगत कारणले आस्थमा भएको छ भने चाहिँ त्यो पूर्णरुपमा निको नहुन पनि सक्दछ ।

कसरी जोगिने ?

दम रोग श्वासप्रस्वाससँग सम्बन्धित भएकाले सावधानीका उपाय पनि यसैसँग सम्बन्धित छन् ।

धुवाँ, धुलोलगायतका वातावरणीय प्रदुषणबाट जोगिनु पर्दछ । त्यसका लागि गुणस्तरीय मास्कको प्रयोग गर्नुपर्दछ । भुत्ला वा रौं भएका पशुपंक्षीबाट टाढै बस्नुपर्दछ ।

यसका साथै चिसोबाट जोगिनुपर्दछ । जाडो समयमा दम रोगले झन् च्याप्छ । त्यसैले घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने गर्नुपर्दछ । सकेसम्म चिसोबाट बच्नुपर्दछ । फि्रजमा राखिएका चिसो खानेकुरा पनि खानु हुँदैन ।

हाछ्युँ आउने, नाक, घाँटी खसखसाउने समस्या छ भने तपाईंलाई एलर्जी हुनसक्छ । त्यसैले एलर्जी हुने काम वा चिजबाट टाढै रहनु बेश हुन्छ । यस्ता एलर्जी भइहाल्यो भने तुरुन्त उपचार गर्नुपर्छ ।

LEAVE A REPLY