पोखरा १८ जेठ । नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले पोखरामा हालै भएको एक कार्यक्रममा पत्रकारहरुलाई सवक सिकाउन आवश्यक रहेको भन्दै दिएको अभिव्यक्ति प्रति कास्कीमा क्रियाशील पत्रकार संगठनहरुले आपत्ति जनाएका छन्। पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उपप्रमुखको पदभार ग्रहण कार्यक्रममा एमाले अध्यक्ष थापाले पत्रकारहरुलाई सवक सिकाउन आवश्यक रहेको अभिव्यक्ति दिएका थिए।

प्रेस युनियन, प्रेस सेन्टर, स्वतन्त्र पत्रकार संघ, क्रान्तिकारी पत्रकार संगठन, प्रेस सोसाइटी, मिडिया नेपाल, क्रियाशिल पत्रकार महिला र फोनिज कास्कीले बुधबार संंयुक्त प्रेस विज्ञप्ति जारी गरि थापाको सो अभिव्यक्ति अपमानजन्य भएको जनाएको छ। साथै थापाले सार्वजनिक रुपमा माफी माग्नु पर्ने माग पनि गरिएको छ।

‘जनताको अभिमतबाट आएको जनप्रतिनिधी प्रति नै नकारात्मक धारणा विकास गराउने मनशायले प्रमुख कार्यकक्षमा नै अस्वभाविक तवरले उपस्थित भइ आफ्नै पार्टी कार्यालय जस्तो गरि पत्रकारहरुलाई अभद्र व्यवहार देखाउने एक राजनितिक दलको जिम्मेवार कास्की जिल्लाको अध्यक्ष जस्तो पदमा बसेका व्यक्तिको यस्तो हर्कत लोकतन्त्रकै उपहास हो’—विज्ञप्तीमा भनिएको छ–‘उक्त कार्यक्रममा सहभागी पत्रकारहरुलाई पटक पटक होच्याउदै पूर्वाग्राही व्यवहार भएको घटना दुखदायी मात्र होइन निन्दनीय भएको हाम्रो ठहर छ।’
यस्तो गम्भीर विषयमा मिडियामा समाचार आइरहदा पनि नेकपा एमालेले हालसम्म कुनै धारणा सार्वजनिक नगर्नु, नेपाल पत्रकार महासंघ कास्की पनि मौन बस्नुले विषय थप रहस्यमय भएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ।

यसैगरी, घटनामा सम्बद्ध व्यक्तिले पनि आफूलाई जिम्मेवार रुपमा प्रस्तुत गरी अबका दिनमा यस्ता घटना दोहोरिन नदिने वाचा सहित सार्वजनिक रुपमा माफी माग्न माग गरिएको छ। अन्यथा श्रमजिवि पत्रकारहरुको सुरक्षा र सम्मानका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको विज्ञप्ति मार्फत जानकारी गराइएको छ।

विज्ञप्तिमा प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणी बराल, प्रेस सेन्टरका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण थापा, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य माधव पनेरु, प्रेस सोसाइटी कास्कीका अध्यक्ष सञ्जयकुमार मल्ल, मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बास्तोला, क्रियाशील पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिमल्सिना र फोनिज कास्कीका अध्यक्ष एमवी आस्थाले हस्ताक्षर गरेका छन्।

LEAVE A REPLY